कालो ढुसीको जोखिम बढ्यो, विश्वसँग हारगुहार

कालो ढुसीको जोखिम बढ्यो, विश्वसँग हारगुहार

नेपालमा कोरोना संक्रमणपश्चात म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण तीब्र गतिमा फैलिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गतिविधिबारे कुराकानी गर्न जनआस्थासंग टेलिफोन संवादमा जोडिनुभएका प्रवक्ता कृष्णप्रसाद पौडेलले संक्रमणबाट निको भएकाहरुमा कालो ढुसीको आक्रमण शुरु भएको बताउनुभयो ।

उहाँका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुमा ढुसीको आक्रमण बढेको पाइएको हो । अत्याधिक एन्टिबायोटिक औषधी प्रयोग गर्ने र रगतमा सुगरको मात्रा बृध्दि भएका बिरामीलाई यसको संक्रमणले छिटो आक्रमण गर्ने उहाँले बताउनुभयो ।

भारतमा संक्रमणमुक्त भएका बिरामीमा देखा परेको यो रोग नेपालमा पहिलो पटक वीरगञ्जमा फेला परेको थियो । त्यहाँ वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

हालसम्म नेपालमा वीरगञ्जमा १, काठमाण्डौँमा ८ तथा बाँकेमा ३ जना गरी १२ जनामा ढुसीको आक्रमण फेला परेको छ । यसका लागि आवश्यक औषधी नेपालमा कम मात्रामा रहेको उहाँले बताउनुभयो । भन्नुभयो, ‘आवश्यक औषधीका लागी डब्लूएचओसँग माग गरेका छौँ ।’

आजबाट स्वास्थ्य मन्त्रालय कालो ढुसीको पनि अध्यावधिक विवरण निकाल्ने तयारीमा रहेको उहाँको भनाई छ ।

यस्तै,मन्त्रालय खोप किन्ने प्रक्रियामा रहेको पनि पौडेलले बताउनुभयो । हालसम्म २ लाख ८९ हजार बढिले दोस्रो डोजको खोप लगाइसकेको र आज पनि चीनबाट खोप आउन लागेको उहाँको भनाई छ । पौडेलले आज अध्यादेशको सम्बन्धमा सीसीएमसी र मन्त्रालयबीच बैठक हुने बताउनुभएको छ ।

टिप्पणीहरू