ठाकुरसहितका चार नेता निश्कासित,एक बर्षमै पार्टी बिभाजित

ठाकुरसहितका चार नेता निश्कासित,एक बर्षमै पार्टी बिभाजित

जनता समाजवादी पार्टी (जसपा) ले पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निश्कासन गरेसङ्गै एक बर्षअगाडि जुटेको पार्टी लगभग फुटेको छ । हिजो बसेको पार्टी कार्यकारिणी समितिको बैठकले ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निश्कासन गरेको हो ।

वर्तमान सरकारमा जाने कि वैकल्पिक सरकार बनाउने भन्नेमा जसपामा लामो समयदेखि विवाद छ । विवादकै बीच ठाकुर खेमाले ओली सरकारमा सहभागी हुने तयारी गरेपछि चारै नेतामाथि अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोध्नुभएको थियो ।

यसअघि जेठ ८ गते बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने नेता पार्टीबाट स्वतः निश्कासनमा पर्ने निर्णय गरेको थियो । उक्त निर्णयविपरित ठाकुर खेमा सरकारमा जाने तयारीका साथ बालुवाटारको भेटघाटमा व्यस्त रहेकै बेला जेठ १५ गते यादवले चारै जनालाई पुन: स्पष्टिकरण सोध्नुभएको थियो । तर, उनीहरुले स्पष्टिकरणको जवाफ नदिएकाले हिजोको बैठकले निश्कासनको निर्णय गरेको प्रतिनिधिसभा सांसदसमेत रहेका जसपा नेता रामसहायप्रसाद यादवले बताउनुभयो ।

पटक-पटक स्पष्टिकरण सोध्दा पनि चार नेताले जवाफ नदिएपछि कारवाही गरिएको यादवले बताउनुभयो ।

यसअघि ठाकुर खेमाले पनि अध्यक्ष यादवलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ भने बिघटित प्रतिनिधि सभातर्फ सांसदहरुको संख्या ठाकुरसँग बढी देखिएको छ । पार्टी फुटाएरै भएपनि सरकारमा जाने तयारीमा रहेको महन्थ खेमासँग केन्द्रीय कार्यकारिणी समितिमा ४० प्रतिशत संख्या अहिले पनि छ । तर,प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रियसभामा रहेका तीन सांसदमध्ये दुई जना उपेन्द्रतिर लागेपछि संसदीय दलमा भने महन्थलाई ४० प्रतिशत पुर्याउन सकस देखिन्छ ।

टिप्पणीहरू