कोरोना संक्रमितका लागि ‘पोस्ट कोभिड प्याकेज’
नेपालमा कोरोनालाई जितेर घर फर्किएपछि पनि विभिन्न स्वास्थ्य समस्या देखिएर ज्यान गुमाउने धेरै छन् । धेरै मानिस यसलाई लिएर चिन्तित पनि छन् । त्यसैले पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना संक्रमितका लागि ‘पोस्ट कोभिड प्याकेज’ ल्याएको छ ।
अस्पतालले देशभरि पोस्ट कोभिड मृत्युदर घटाउने उद्देश्यले नै ‘पोस्ट कोभिड प्याकेज’ घोषणा गरेको हो । नर्भिकले दुई प्रकारका (सस्तो र महँगो) प्याकेज घोषणा गरेको छ । सस्तो दरको प्याकेज रु. ७५०० मै उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
यो प्याकेजभित्र बिरामीको सिबीसी,कोभिड एन्टीबडी,सीआरपी,डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ भने यस प्याकेजमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवासमेत पाइनेछ ।
यो प्याकेज ल्याएसंगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा उपचार गराउन सक्ने अस्पतालले जनाएको छ । महँगो प्याकेजमा सीटी स्क्यानलगायतका परीक्षण रहेका छन्, जसको रेट १४ हजार ५०० रुपैयाँ छ । यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक गर्न सक्ने अस्पतालले जनाएको छ ।
नर्भिक अस्पतालले कोभिडले गर्दा बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेपछि त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात केहि दिन अगाडिबाट नै गरेको हो । सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तर्गतको सेवा लिन सक्नेछन् ।
टिप्पणीहरू