अभिभावक गुमाएको रतुवा चिडियाखानामा रमाउँदै

अभिभावक गुमाएको रतुवा चिडियाखानामा रमाउँदै

जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखाना,जावलाखेलमा ल्याइएको छ । घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको उक्त रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानाको जिम्मा लगाएको हो ।

सदर चिडियाखानाका भेटनरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । अभिभावक गुमाएको अवस्थामा भेटिएको उक्त मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उहाँले बताउनुभयो ।यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको जानकारी दिनुभयो ।

भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गर्नुभयो ।

आफूहरुले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरुलाई उध्दार र संरक्षण गर्ने गरेको उहाँले बताउनुभयो ।

उध्दार गरिएका जनावरहरु प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र त्यता जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने डा. थापाको भनाइ छ ।

 

टिप्पणीहरू