उपत्यकाको निषेधाज्ञा एक कदम पछि हट्ने
उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो हुने भएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाउनेबारे छलफल थालेको छ ।
उपत्यकाका तीन जिल्लाका सिडिओहरुको आज बसेको बैठकले निषेधाज्ञाको मोडालिटी हेरफेर गर्नेबारे छलफल गरेको काठमाण्डौँका सिडिओ कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । तर, बैठकले ठोस निर्णय भने नगरेको उहाँले बताउनुभयो ।
‘निषेधाज्ञाका बारेमा नागरिकमा अन्योलता सृजना भएपछि यसबारे छलफल गर्न बैठक बसेका थियौं । अहिलेभन्दा केही खुकुलो बनाउने कि भन्ने छ, तर निर्णय गरिसकेको छैन’,जनआस्था सँगको कुराकानीमा उहाँले भन्नुभयो ।
उँहाले निषेधाज्ञालाई खुकुलो बनाएर लैजाने या अहिलेकै मोडालिटी कायम राख्ने भन्नेबारे छलफल भएको बताउनुभयो । स्वास्थ्य मन्त्रालयसँग तथ्याङ्क मागेर थप गृहकार्य गरि भोली निर्णय हुने उहाँको भनाइ छ ।
कोरोना संक्रमण दर केही घटेपनि तत्काल निषेधाज्ञा पूर्ण रुपमा हट्ने सम्भावना भने नरहेको पराजुलीले बताउनुभयो । उपत्यकामा जारी निषेधाज्ञा पर्सि बिहीबार सकिंदैछ ।
टिप्पणीहरू