दु:खमा साथ दिएका मन्त्री यसरी हटाइए,मधेसबाट यसरी थपिए
प्रधानमन्त्री केपी शर्मा ओलीको मौजुदा क्याबिनेट जसपाका आठ जना मन्त्री थपिने भएपछि आज साँझबाट पुनर्गठन गरिएको छ । पुनर्गठनमा साविक क्याबिनेटका चार जनाबाहेक सबैलाई बिदा गरिएको छ । आठ जना भित्रिँदा चार जना बाँकी राखेर अरु सबै मन्त्रीलाई हटाउन प्रधानमन्त्री ओली के कारणले बाध्य हुनुभयो होला ?
स्रोत भन्छ-एमालेको नवौं महाधिवेशनबाट निर्वाचित महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल एवम् सचिव र पार्टी प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई पार्टी संगठन दह्रो ढंगले बनाउने काममा सक्रिय हुन क्याबिनेटबाट झिकिएको हो ।
उता उपप्रधानन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी दिइएका रघुवीर महासेठलाई भने स्थानीय राजनीतिको कारण बढुवा गर्नपरेको बताइन्छ । धनुषा जिल्लाबाट निर्वाचित महासेठको जिल्लामा प्रतिस्पर्धी स्वयम् जसपाका राजेन्द्र महतो र काँग्रेसका बिमलेन्द्र निधी हुन् । उनीहरुसँगको प्रतिस्पर्धालाई सापेक्ष बनाउन महासेठलाई अघि सारिएको स्रोतको दाबी छ ।
त्यसैगरी ३२ सांसद रहेको २ नम्बर प्रदेशबाट एमालेका बिजयी सांसदहरुमा धनुषाका महासेठ र सिरहाका लीला श्रेष्ठ मात्र हुन् । त्यसैले मधेशको राजनीतिमा एमालेको उपस्थिति र प्रतिस्पर्धा जोगाउन श्रेष्ठ र महासेठलाई मन्त्रीमण्डलमा समावेश गरिएको हो । केही महिनाअगाडि भौतिक योजना मन्त्रालयबाट हटाइएका महासेठलाई परराष्ट्रको जिम्मेवारी दिँदा अन्तर्राष्ट्रिय सम्बन्धको लागि डिल गर्न सहज हुने प्रधानमन्त्री ओलीको विश्लेषण हुनसक्ने आँकलन गरिएको छ ।
केही समयअघि महासेठलाई क्याबिनेटबाट बिदा गरेपछि श्रीमती जुली महतोलाई मन्त्री बनाइएको थियो । आज महतोलाई बिदा गरिँदा महासेठलाई अघि सारिएको छ । एउटा घरमा श्रीमान र श्रीमतीलाई अघि सार्ने र पछि पार्ने काम पहिले सीपी मैनाली र सीता खड्काहरुमा पनि लागू भएको थियो ।
उता,वरिष्ठ नेता माधवकुमार नेपाल क्याम्पमा रहेकालाई अवसरको सन्देश दिन शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिइएको छ । त्यता बस्दा के पाउँछौ, यता आउँदा मन्त्री कन्फर्म भन्ने शैलीमा तामाङलाई अघि सारिएको स्पष्ट देखिन्छ । यसबाट यसअघि जीब्रो चिप्लेका कारण कानुन मन्त्रीबाट हट्नु परेको तामाङको पीडामा मल्हमपट्टी लगाइएको पनि देखिएको छ ।
आजै सर्वोच्च अदालतले विवादास्पद नागरिकता अध्यादेशविरुद्ध मुद्दा सुनुवाईको मिति पर धकेलेर जसपाका नेताहरुलाई क्याबिनेट छिर्न बाटो खुल्ला गरिदिएको थियो । किनभने, जेठ ६ गते त्यहि अदालतका कारण पूर्वमाओवादीका ७ जना मन्त्रीले खाइपाइ आएको मन्त्री पदबाट एकाएक हात धुनुपरेको थियो ।
टिप्पणीहरू