जिम्मेवारीबाट हटेका मन्त्रीहरु क्वार्टरमै,बल्ल डेरा खोज्न थालियो
पुन: नियुक्त भएर अदालतको आदेशबाट पदमुक्त भएका रामबहादुर थापा बादल गृहमन्त्री,टोपबहादुर रायमाझी ऊर्जा,लेखराज भट्टउद्योग,प्रभु साह सहरी विकास,मणिचन्द्र थापा खानेपानी,गौरीशंकर चौधरी श्रम र दावा लामा तामाङ- युवा तथा खेलकुदमन्त्रीले ललितपुरको पुल्चोकस्थित सरकारी निवास अझै छाडेका छैनन् ।
सर्वोच्च अदालतको जेठ ६ गतेको आदेशपछि पदमुक्त भएका पूर्वमाओवादी मन्त्रीहरुले प्रधानमन्त्रीकै आश्वासनमा डेरा नखोजेका हुन् । अदालतले गैरसांसद सात जना मन्त्रीको शपथ र नियुक्ति बदर गरेपछि मन्त्रीकै हैसियतसहित उनीहरु नेम प्लेट राखेरै मन्त्री क्वार्टरमा बसेका छन् ।
केपी शर्मा ओलीले ३१ वैशाखमा संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्रीको रूपमा शपथ लिएपछि त्यही दिन उहाँले मन्त्रिपरिषद् बिस्तार गर्नुभएको थियो । त्यसक्रममा सांसद नरहेका रामबहादुर थापा बादलहरुलाई पुनः नियुक्त गरिएको थियो ।
तर सर्वोच्चको आदेशले मन्त्रीको हैसियतमा काम नगर्न भने पनि सातै जना मन्त्री शुक्रबारसम्म मन्त्रीक्वार्टरमा बसेका हुन् । मन्त्री क्वार्टर स्रोतका अनुसार अहिले पनि त्यहाँ १३ जना मन्त्री छन् । जसमध्ये नियुक्ति बदर भएका मन्त्रीहरु सात जना हुन् ।
शुक्रबार दिउँसो स्रोतले भन्यो ‘बादलले सामान सारिरहेका छन् । तर पूरै छोडेका छैनन् । श्रममन्त्री गौरीशंकर चौधरीले भने बल्ल सामान सार्ने सुरसार गरेका छन् ।’
‘नयाँ मन्त्री आएपछि क्वार्टरमा सम्पूर्ण खर्च गरेर नयाँ सरसामान हाल्ने चलन छ,त्यसैले मन्त्री पदबाट मुक्त भएर जाँदा सबै लैजान्छन्’ स्रोतले भन्यो, ‘यसलाई परम्परा नै मानेका छन्, पर्दा, सोफा र कार्पेटमात्र होइन, गमलासमेत लगेका छन् ।’
मन्त्रीक्वार्टर भित्रको निवास बाहिर पहेंलो प्लेटमा लेखिएका नाम र पदको प्लेटचाहिँ एक साता अघिमात्र हटाइएको बताइएको छ । शुक्रबारसम्म उनीहरु मन्त्रीकै हैसियतमा भित्र बाहिर गर्ने र मन्त्रालय समेत पुग्ने गरेको स्रोतको दाबी छ । स्रोतले भन्यो ‘उनीहरुले बाहिर निस्किँदाचाँहि गाडीको झण्डा छोपेको देखिन्थ्यो ।’
टिप्पणीहरू