महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

मुलुक अहिले कोरोना महामारीले आक्रान्त छ । दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढेको बढ्यै छ । अस्पतालहरुमा औषधिदेखि अक्सिजनसम्मको अभावले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था निकै डरलाग्दो छ ।

यस्तो संवेदनशील घडीमा देशको स्वास्थ्य क्षेत्रको अभिभावकीय भूमिकामा रहेको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी महत्वपूर्ण हुन्छ । तर, मुलुकमा उत्पन्न चरम स्वास्थ्य संकटका बेला पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता स्वार्थका कारण स्वास्थ्य मन्त्रालयलाई निकम्मा बनाइएको छ ।

कोरोना नियन्त्रण र विरामीको उपचारमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने जिम्मेवारीमा रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्व साढे ३ वर्षमा ५ पटक फेरिसकेको छ । स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन हुँदा कोरोना महामारी नियन्त्रण र बिरामीको उपचारमा नीतिगत र व्यवस्थापकीय असर पर्ने सरोकारवालाहरुको चिन्ता छ ।

स्थिरताको नारा दिएर सरकारको नेतृत्वमा पुग्नुभएका प्रधानमन्त्री ओलीलाई यस्तो महामारीका बेला बारम्बार स्वास्थ्य मन्त्री हेरफेर गर्नुपर्ने बाध्यता के पर्यो होला ? स्वास्थ्य क्षेत्रका जानकारहरु भन्छन्, ‘ओलीको प्राथमिकता अहिलेको स्वास्थ्य संकट हल गर्ने भन्दा पनि आफ्नो सरकार टिकाउनेतिर लाग्दाको परिणाम हो ।’ मन्त्रीको प्राथमिकता र काम गर्ने शैली फरक पर्ने हुँदा त्यसको प्रभाव स्वास्थ्य मन्त्रालयमा पर्ने उनीहरु बताउछन् ।

अहिले कोरोनाको खोप ल्याएर जनताको ज्यान बचाउनुपर्ने मुख्य दायित्व स्वास्थ्य मन्त्रालयमाथि छ । खोपको आपूर्ति सहज बनाउन मन्त्रीको व्यक्तिगत भूमिका पनि महत्वपूर्ण हुन्छ । यस्तोमा ठोस कार्ययोजनासहित समयतालिका बनाएर काम गर्नुपर्ने हुन्छ । तर, मन्त्रालयको नेतृत्व परिवर्तन हुँदा योजना कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउछन् । नाम नलेख्ने शर्तामा एक उच्च तहका कर्मचारीले भने, ‘एउटा रफ्तारमा काम भैरहेको हुन्छ, फ्याट मन्त्री फेरिन्छन् अनि त्यसको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पर्छ । अरु मन्त्रालयमा जे गरे पनि यस्तो संकटको बेला स्वास्थ्य मन्त्रालयलाई अस्थिर बनाउनु चैं गलत नै हो ।’

साढे तीन वर्षमा पाँच मन्त्री फेरिंदा स्वास्थ्य मन्त्रालयले हिजो फेरी नयाँ मन्त्री पाएको छ । तुलनात्मक रुपमा कम बिबादित बनेका हृदयस त्रिपाठीलाई हटाएर प्रधानमन्त्री ओलीका प्रियपात्र शेरबहादुर तामाङ्गलाई मन्त्रालयको नेतृत्व दिइएको छ ।

जानकारहरुका अनुसार कोरोनाको भ्याक्सिन खरिदमा कमिशनको चलखेल भैरहेको टिप्पणी गरेपछि त्रिपाठीले मन्त्री गुमाउनु परेको हो । आफूविरुद्धको आवाज सुन्नै नचाहाने स्वभावका ओलीले त्रिपाठीको त्यहि टिप्पणीका कारण मन्त्रिपरिषद पुनर्गठनको मौका पारेर हटाएको बताइन्छ ।

ओली कार्यकालमा को-को भए स्वास्थ्यमन्त्री

आफू प्रधानमन्त्रीमा नियुक्त भएसंगै प्रधानमन्त्री ओलीले एमाले नेतृ पदमा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा स्वास्थ्य मन्त्रालय छिराउनुभयो । मन्त्रालयको जिम्मा ओली आफैले लिएर अर्याललाई राज्यमन्त्रीमा सिमित गरिएको थियो ।

त्यसको करिब १५ महिनापछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री बनाइयो । यादवको पालामा देखिने गरि उल्लेखनीय काम नभए पनि ठूला विवाद र कमिशनका कुरा खासै सुनिएन । विश्वमा कोरोनाको प्रकोप शुरु हुँदैगर्दा तुलनात्मक रुपमा कम विवादित रहनुभएका यादवलाई अकारण हटाएर डेड वर्षपछि भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको नेतृत्वमा ल्याइयो ।

ओलीको साढे तीन वर्षे कार्यकालमा नियुक्त भएका स्वास्थ्य मन्त्रीमध्ये ढकाल सबैभन्दा बढी विवादित हुनुभयो । ढकालको नेतृत्व यति बिबादित बन्यो कि कोरोना महामारीमा पनि स्वास्थ्य सामाग्री खरिदमा ठुल्ठुला कमिशनका काण्ड बाहिरियो । स्वास्थ्य सामाग्री खरिदमा अरवौं घोटाला भएको भन्दै सडकदेखि सदनसम्म आवाज उठेपनि उहाँमाथि कुनै छानविन भएन । बरु ढकाललाई पर्यटन मन्त्रालयमा सारेर हृदयस त्रिपाठीलाई स्वास्थ्यमा ल्याइयो ।

जव स्वास्थ्य मन्त्रालयमा त्रिपाठीको इन्ट्री भयो, ढकालको तुलनामा केही देखिने गरि काम भए । भारतबाट केही लाख डोज खोप आपूर्ति भयो । अपर्याप्त भए पनि खोप अभियानको शुरुआत त्रिपाठीकै पालामा शुरु भयो ।

एउटा स्प्रिटमा काम गरिरहेका बेला पनि त्रिपाठीलाई फालेर हिजो तामाङ्गलाई स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइएको छ ।

मुलुक महामारीसँग जुधिरहेका बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व फेरेर प्रधानमन्त्री ओलीले संवेदनहीन काम गरेको राजनीतिक विश्लेषकहरु बताउछन् । सत्ता समीकरण मिलाउन स्वास्थ्यजस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचका रुपमा प्रयोग गरिनु विडम्बना हुने उनीहरुको भनाइ छ ।

कोरोना नियन्त्रणमा राज्यको सम्पूर्ण प्रयास केन्द्रित हुनुपर्नेमा पटक-पटक स्वास्थ्य मन्त्रालयको नेतृत्व फेरेर प्रधानमन्त्री ओलीको अस्थिरता निम्त्याएको धेरैको भनाइ छ । जनताको ज्यान जोगाउने भन्दा पनि सत्ता जोगाउने कुरा ओलीको प्राथमिकतामा पर्दा स्वास्थ्य क्षेत्र तहसनहस भएको विश्लेषकहरु बताउछन् ।

टिप्पणीहरू