बोलीमा लगाम कसको ? प्रधानमन्त्रीको कि उपप्रधानमन्त्रीको ? (भिडियो सहित)
‘आफ्नो बोलीमा लगाम लगाऊ केपी ओली’ भन्ने राजेन्द्र महतो अहिले उनै प्रधानमन्त्री केपी शर्मा ओलीको उपप्रधानमन्त्री बनेका छन् । अब,नियम,कानुन र संविधान मान्ने हो भने उनै महतो ओलीको बोलीअनुसार चल्नुपर्ने भएको छ ।
केहि समयअघि २ नम्बर प्रदेशमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तत्कालीन जनता समाजवादी पार्टी (जसपा) का नेता महतोले प्रधानमन्त्री ओलीको मधेशीलाई युपी (भारतको उत्तर प्रदेश) र बिहारी भन्ने बोलीमा लगाम लगाउन चेतावनीको शैलीमा चर्को भाषण गरेका थिए ।
महतोले त्यतिबेला छुट्टै मधेश प्रदेशको मागलाई दोहोर्याउँदै माग पूरा नभएमा बदला लिनेसम्मको कुरो गरेका थिए । अहिले घुमिफिरी महतो उनै ओलीको क्याबिनेटमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री बनेका छन् ।
शुक्रबार साँझ मन्त्री भएपछि र हिजो शनिबार दिउँसो पनि बोल्दै महतोले ‘बहुराज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ विवादास्पद अभिव्यक्ति दिएका छन् । उक्त अभिव्यक्तिको सर्वत्र बिरोध भएको छ ।महतोको राष्ट्रघाती अभिव्यक्तिको एमाले युवा नेता योगेश भट्टराई, गोकर्ण बिष्टलगायतले तत्काल खुलेर विरोध गरेको अवस्थामा प्रधानमन्त्री भने तैं चुप मै चुप हुनुहुन्छ ।
बिष्टले सार्वजनिक रुपमा महतोको उक्त अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल रहेकाले जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी शनिबार दिउँसै गर्नुभएको थियो ।
साँझ एमालेका १५ जना स्थायी समिति सदस्यको सामूहिक वक्तव्यमा समेत उपप्रधानमन्त्री महतोको धारणाको कडा निन्दा गर्दै प्रधानमन्त्री ओलीले त्यसबारे जवाफ दिनुपर्ने माग राखिएको छ ।
टिप्पणीहरू