राउटे युवतीलाई मुखियाले ४ महिना थुनेको खुलासा
मदिरा सेवन गरी राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहार गरिएको घटनाको प्रभावकारी अनुसन्धानमार्फत् दोषीलाई कानुनी दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका ९ का युवाहरुले राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौन दुर्व्यवहार गरेको घटनाप्रति आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय,जुम्लाले अनुगमनबाट पत्ता लगाएअनुसार उनीहरूलाई होटलमा लगेर यौन कार्य गर्न बाध्य बनाइएको थियो ।
यसैकारण अब ती युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्ने खतरा बढेको छ । अनुगमनबाट यौन हिंसामा परेका ती युवतीलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्दजस्तै गरी राखेको समेत खुलेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोख्रेलद्वारा जारी विज्ञप्तिमा पीडित युवतीहरुको गोपनीयता संरक्षण,स्वास्थ्य परीक्षण, भौतिक सुरक्षा र अधिकार प्राप्तिमा आवश्यक पहल र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरिएको छ ।
टिप्पणीहरू