पछिल्लो २४ घण्टामा भएका घटना र अपराध : अनलाइन ठगीदेखि घरमा आगो झोस्ने पक्राउ
सामाजिक सञ्जाल ह्वाट्सएप, इमो मार्फत् चिठ्ठा परेको भनी पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१८ का निरज कुमार सिंह पक्राउ परेका छन् ।
ह्वाट्सएप, इमो मार्फत् २५ लाखको चिठ्ठा परेको विश्वास दिलाई उक्त रकम प्राप्त गर्न कर दिनुपर्ने भन्दै प्रलोभनमा पारी पीडितहरुलाई आफ्नो नाममा रहेको बैंक खाता, आइएमई, ई–सेवामा नगद जम्मा गर्न लगाउने मध्ये निरजकुमार पक्राउ परेका छन् ।
त्यसैगरी रौतहटमा घरमा आगो लगाइदिएको अभियोगमा एक जना पक्राउ परेका छन् । फतुवा विजयपुर नगरपालिका–११ भैसहीका सिकिन्द्र महतोको घरमा सोमबार बिहान आगो लगाइदिएका कारण घर पूर्णरुपमा जलेको थियो ।
परोहा नगरपालिका–६ बसन्तपटीका ४५ वर्षीय मनोज महतोले सिकिन्द्रको घरमा आगजनी गरी फरार भएको बताइएको छ । मनोजलाई अहिले प्रहरी नियन्त्रणमा छन् । आगलागीबाट झण्डै दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
उता सिन्धुलीमा करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । कमलामाई नगरपालिका–७ की २१ वर्षीया शान्ति माया थिङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।
शान्ति माया र सोही ठाउँकी १५ वर्षीया गीता पाण्डे घरबाट सिन्धुलीतर्फ जाने क्रममा सडकमा चुडिएको विद्युतको तारबाट अचानक करेन्ट लाग्दा शान्तिको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएकी गीताको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
टिप्पणीहरू