के हो डा.बाबुरामले भनेको अकल्पनीय संकट ?
प्रतिनिधिसभा विघटनले निम्त्याएको राजनीतिक तथा संवैधानिक संकट र तीब्र रुपमा बढेको दलीय ध्रुवीकरणले मुलुक अन्योलतामा फसेका बेला पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर खतराको संकेत गर्नुभएको छ ।
जेठ २३ गते शनिवार राती एउटा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै डा.भट्टराईले राष्ट्रिय स्वाधिनता र मुलुकको स्वतन्त्रतामाथि बाह्य शक्तिबाट खतरा बढेको सूचना आफूले पाएको बताउनुभएको थियो । भट्टराईले बाह्य शक्तिबाट मुलुकमाथि खतराको संकेत गरेपनि त्यसबारे थप प्रष्ट नपारेपछि अनेक आशंका पैदा भएका छन् ।
‘बैशाख १३ गते मध्यरात मेरो जीवनमा यस्तो घटना घटेको छ,म अहिले उद्घाटित त गर्दिन । संकेत मात्र गर्छु । कुनै बेला मैले जनतालाई बुझाउनुपर्छ । मसंग भएका इन्फर्मेशनहरु नेपाली जनतालाई बताउनुपर्छ ‘,उहाँले भन्नुभएको थियो ।
भेटमा ओलीले मलाई पार्टीभित्र र बाहिरबाट घेरावन्दी भयो,तपाइँले सहयोग गर्नुपर्यो भन्नुभएछ ।
यद्यपि त्यस्तो सूचना आफूले प्रधानमन्त्री केपी ओलीलाई दिएपनि त्यसको गलत प्रचार गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । केही समयअघि प्रधानमन्त्री ओलीका विश्वासपात्र महेश बस्नेतले डा. भट्टराई प्रधानमन्त्री माग्न मध्यरात बालुवाटार गएको सनसनीपूर्ण खुलासा गरेका थिए । त्यसबारे सोधिएको प्रश्नको जवाफमा भट्टराईले मुलुक बर्बादीतर्फ जाँदैछ भन्ने सूचना पाएपछि आफूले प्रधानमन्त्रीलाई भेटेको स्वीकार गर्दै बस्नेतले गलत प्रचार गरेको दाबी गर्नुभयो ।
‘म यो देशको जिम्मेवार नागरिक पनि हुँ,राष्ट्रियतामाथि संकट आउँदैछ भन्ने सूचना पाएपछि मैले यो देशको प्रधानमन्त्रीलाई भेटेको हो । आफूले पाएको सूचना प्रधानमन्त्रीलाई बताएर देशलाई बचाउनुपर्छ भनी बिशुध्द पवित्र भावनाले भेट्न गएको थिएँ । यो देशलाई बचाउने हो भने केही गम्भीर कदम चाल्नुपर्छ,तपाईंले मार्गप्रशस्त गर्नुस् भनेको थिएँ’, उहाँले भन्नुभयो,’तर केपी ओली जो आन्तरिक रुपमा परिवर्तनको विरोधी र बाह्य रुपमा कसैको सेवामा काम गर्ने पात्र हुन्,उनले मैले दिएको सदाशयतापूर्ण विचारलाई उल्टो रुपमा प्रचार गरे । यो कुरा इतिहासमा पुष्टि हुन्छ । कुनै दिन मैले यथार्थ बाहिर ल्याउँछु,अहिले बेला भएको छैन ।’
मुलुकको सार्वभौमसत्ता नै संकटमा परेको सूचना पाउँदा पनि जनतालाई थाहा दिनु पर्दैन भन्ने प्रश्नमा उहाँले देशको कार्यकारी प्रमुखलाई जानकारी गराइसकेको र समय आएपछि जनतालाई पनि भन्ने बताउनुभयो । तर,आफूले गम्भीर विषय उठाउँदा पनि ओलीले विषयान्तर गरेर सामान्यीकरण गरेको उहाँको भनाइ छ ।
भट्टराईले पाएको सूचना के हो त भनेर प्रश्न गर्दा उहाँनिकट स्रोतले संविधान ध्वस्त पारेर दोस्रो खिलराज रेग्मी प्रकरण घटाउने दक्षिणको योजना हुनसक्ने बतायो । उक्त स्रोतले बताएअनुसार राजनीतिक अस्थिरता पैदा गर्ने र गैरराजनीतिक व्यक्तिको हातमा सत्ता सुम्पिने विदेशी ग्राण्डडिजाइनको मुख्य पात्रका रुपमा प्रधानमन्त्री प्रयोग भएको भट्टराईले जानकारी पाउनुभएको थियो । त्यसको जानकारी उहाँले प्रधानमन्त्री र अन्य दलका नेताहरुलाई पनि दिनुभएको हो ।
भट्टराईको बालुवाटार भेटघाटदेखिकै प्रसंग जोड्दै स्रोतले अगाडि भन्यो,’केही सूचना पाएकाले नै उहाँले प्रधानमन्त्रीलाई दुईचोटी भेट्नुभएको हो । पहिलो भेटमा उहाँले प्रधानमन्त्रीलाई तपाईंकै पहलमा राष्ट्रिय सहमति कायम गरेर सम्भावित खतराबाट मुलुकलाई बचाऊँ भनी प्रस्ताव गर्नुभयो । तर बालुवाटारबाट त्यसको दुष्प्रचार गरियो ।’
मुलुकलाई राजनीतिक अन्योलताबाट मुक्त गर्न अस्वस्थताका वावजुद भट्टराईले पहल गरेको स्रोत बताउँछ । भट्टराईले पेटको अप्रेशन गर्नुभन्दा दुई दिनअघि बैशाख १३ गते साँझ ७ बजे ओलीलाई भेटेको र उक्त भेटमा राजनीतिक निकासका लागि पहलकदमी लिन आग्रह गर्नुभएको हो । स्रोतको भनाइअनुसार ओलीसँगको भेटमा भट्टराईले प्रधानमन्त्रीमा आफ्नो कुनै आकांक्षा नभएको प्रष्ट पार्दै एउटा नागरिक र पूर्वप्रधानमन्त्रीको हिसाबले आफूले पाएको सूचना दिन आएको बताउनुभएको थियो ।
‘उहाँले कुराकानीको प्रारम्भमै म अहिले सानो शक्ति हो,ठूलो आकांक्षा केही छैन । व्यक्तिगत कुरा गर्न आएको पनि हैन । सचेत नागरिकको हिसाबले आफ्नो देशको प्रमलाई भेट्न आएको हुँ भनेर क्लियर पार्नुभएको थियो । पछि प्रधानमन्त्री माग्न आयो भनेर कुप्रचार गरियो’,स्रोत भन्छ ।
ओलीले खास चासो नदिएपछि त्यसै बालुवाटारबाट बाहिरिनुभएका भट्टराई अप्रेशनपछि दोस्रोपटक फेरि बालुवाटार जानुभएको थियो । अघिल्लो पटक आफैं भेट्न जानुभएका उहाँलाई दोस्रो पटक भने ओलीले बोलाएपछि गएको स्रोतले भन्यो । ‘११ बजेको टाइम दिएका थिए । तर उहाँ ५ बजे जानुभएको हो । भेटमा ओलीले मलाई पार्टीभित्र र बाहिरबाट घेरावन्दी भयो,तपाइँले सहयोग गर्नुपर्यो भन्नुभएछ । भट्टराईले तपाईं आफैँ पहलकदमी लिनुस् र मुलुकलाई बर्बादीतर्फ जानबाट जोगाउनुस् भनेर सल्लाह दिनुभएको हो’,दोस्रो पटकको भेटवारे स्रोतले भन्यो ।
उक्त स्रोतका अनुसार भट्टराईले देउवाको बहुमत नपुग्ने र ओलीले पनि नछोड्ने अवस्थामा इगोको चक्करमा मुलुक फस्न सक्नेतर्फ सचेत गराउँदै निकासका लागि भूमिका खेल्न आग्रह गर्नुभएको थियो । ओलीले भने आफूलाई घेराबन्दी गरिएको भन्दै सबलाई देखाइदिने चेतावनीपूर्ण अभिव्यक्ति दिएको स्रोत दाबी गर्छ ।
टिप्पणीहरू