एमाले बिवादको परिणाम,जोगिए सुदूरपश्चिमका मुख्यमन्त्री

एमाले बिवादको परिणाम,जोगिए सुदूरपश्चिमका मुख्यमन्त्री

नेकपा विभाजन र एमालेको बिवादले धरापमा परिसकेका दुई प्रदेश सरकार जोगिएका छन् ।भर्खर सुदूरपश्चिम सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले आज गरेको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा बहुमत जुटेपछि सरकारले निरन्तरता पाउने भएको हो ।

माओवादी र एमालेको माधव नेपाल समूह मुख्यमन्त्रीको प्रस्तावको पक्षमा उभिएका हुन् । मुख्यमन्त्री भट्टको पक्षमा ३० मत आयो भने विपक्षमा ९ मत पर्यो।

सरकारलाई विश्वासको मत पुग्ने अवस्था भएकाले कांग्रेसका १२ सांसद भने तटस्थ बसेका थिए । ५२ सदस्यीय प्रदेशसभामा आज ५१ प्रदेशसभा सदस्य मतदानमा सहभागी थिए ।

मतदानमा उपस्थित एमालेका २४ मध्ये १७ जना माधव नेपाल पक्षका सांसद र माओवादी केन्द्रका १३ सांसदले मुख्यमन्त्रीलाई मत दिए । यसअघि माओवादी नेतृत्वकै कर्णाली प्रदेश सरकारलाई माधव खेमाले आफ्नो पद गुमाएर भए पनि जोगाएको थियो ।

माओवादीले पनि राष्ट्रिय सभाको आफ्नो दुई सीटमा माधव निकट र काङ्ग्रेस निकट उम्मेदवारलाई जिताएर सहकार्यको शुरुआत गरिसकेको हो । अब बिपक्षी गठबन्धन यही रूपमा बढ्दै गए अरु प्रदेशतिर पनि यो आगो सल्कने सम्भावना टड्कारो छ ।

टिप्पणीहरू