नयाँ मन्त्रीप्रति चीनको चित्त दुःखाई
छिमेकी मित्रराष्ट्र चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हालै थपिएका मन्त्रीप्रति राम्रैसँग चित्त दुखाएको बुझिएको छ ।
प्रधानमन्त्री ओलीलाई चीन,चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीका असल मित्र ठान्दै आएको उत्तरी छिमेकी हालै कथित स्वतन्त्र तिब्बत अभियानमा सहभागी जसपाका एक जना नेता नयाँ मन्त्रीको रूपमा झुल्किएपछि एक्कासी सशंकित बनेको बताइन्छ ।
दुई वर्षअघि जसपाका दुई जना सांसद एकवाल मियाँ र प्रदीप यादवले लात्भियाको रिगामा भएको “स्वतन्त्र तिब्बत”सम्बन्धी सातौं विधायक सम्मेलनमा भाग लिएका थिए । मियाँ गत शुक्रबारदेखि ओली सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
भारतस्थित तिब्बतको निर्वासित सरकारले प्रकाशन र सञ्चालन गर्दै आएको “द तिब्बत एक्सप्रेस” अनलाइनमा प्रकाशित समाचारमा पनि मियाँ र यादवले दुई वर्षअघि उक्त सम्मेलनमा भाग लिएको कुरा उल्लेख छ ।
समाचारमा भनिएको छ,‘चीन सरकारले नेपालका दुई जना सांसदले भाग लिएको उक्त खुल्ला प्रमाणलाई आधार बनाउँदै आफ्नो दबाब बढाएको छ ।’
टिप्पणीहरू