जताततै बाढी र पहिरो : बागमती, गण्डकी, कर्णाली र लुम्बिनी अति प्रभावित
पछिल्लो केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढी र पहिरोका ३० भन्दा बढी घटना भएका छन् । सुरक्षा स्रोतका अनुसार हिजो र आज बिहानसम्म सबैभन्दा ठूला घटना सिन्धुपाल्चोक र मनाङमा भएका छन् । सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ ।
तीबाहेक अन्य जिल्लामा पनि बाढी र पहिरोले जनजीवन प्रभावित भएका छन् । बाढी पहिरोपछि अवरुद्ध भएका पहाडी जिल्लाका सडकहरुमा सिद्धार्थ लोकमार्ग, तम्घास–रिडी सडक खण्ड, खोड्पे–बझाङ, पूर्व पश्चिम लोकमार्ग, भीमदत्त सडक खण्ड, रिडी–बुर्तिवाङ सडक खण्ड, रिडी–बुर्तिवाङ जाने भित्री कच्ची सडक खण्ड मुख्य हुन् ।
यसैगरी जयपृथ्वी राजमार्गअन्तर्गत चैनपुर–खोड्पे सडक खण्ड, राप्ती लोकमार्ग, स्याङजा–गुल्मी सडक खण्ड, कालिकोट–तिला गुफा सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड, गुल्मी–तम्घास सडक खण्ड, बुटवल–नारायणघाट सडक खण्ड र साँफे– मार्तडी सडक खण्ड पनि अवरुद्ध भएका छन् ।
त्यस्तै, बाजुरामा खोला तर्ने क्रममा बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । त्रिवेणी नगरपालिका ५ का कमल बुढाको तिमली खोलाले बगाएर मृत्यु भएको हो ।
कास्कीमा हाईड्रो पावरको निर्माण सामाग्री नै बगाएको छ भने मनाङको चामेमा बस्ती बाढी र पहिरोको जोखिममा परेकाले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
उता, गुल्मीको मदाने गाउँपालिकामा एउटा घर डुबेको छ भने रुपन्देहीको रोहिणी गाउँपालिका ७ का केही स्थान पनि जलमग्न भएका छन् । पर्वतमा पहिरोले चार वटा घरमा क्षति पुर्याएको छ । गुल्मीमा वर्षाले घर भत्कँदा एक जना महिला घाइते भएकी छन् ।
त्यस्तै, दोलखा, पाल्पा, दाङ, बाग्लुङ, पूर्वी नवलपरासीमा पनि डुबान, पहिरोलगायतका घटना भएका छन् । पाल्पामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।
उता जाजरकोटको कुशे गाउँपालिका ८ औलिजाका स्थानीय पशुचौपाया चराउन जलजला पाटन जाँदा अविरल वर्षा र हावाहुरीको चपेटामा परेका छन् । चराउन गएका ११ जनामध्ये चार जना सम्पर्कमा आएका छन् भने अन्य हालसम्म सम्पर्क विहीन रहेको बताइन्छ ।
त्यसक्रममा २२ वटा गाई १० वटा भैंसी र ५० वटा बाख्रा पनि मरेको खबर नेपाल प्रहरीले प्राप्त गरेको छ । सदरमुकामबाट ४ दिन पैदल यात्राको दूरीमा रहेको उक्त स्थानमा हालसम्म कुनैपनि सुरक्षा निकाय पुग्न सकेको छैन ।
पशुचौपाया चराउन जाँदा बेखबर भएकाहरुमा २५ वर्षका विक्रम खड्का, २८ वर्षकी चनर्क खड्का, १८ वर्षका भविर्न खड्का, १२ वर्षे भीमबहादुर खड्का, १७ वर्षकी धनसरा खड्का, ४० वर्षका कृष्ण रोकाय र ३५ वर्षका दिलबहादुर खड्का हुन् ।
हिजो राती कास्कीको मादी १ होकुस्थित मादी खोलामा आएको बाढीले दुई वटा भेँडी गोठ बगाउँदा गोठमा रहेका २ सय ५० वटा भेँडा बगाएको छ ।
यता दाङको लमही ७, हसनापुरस्थित राप्ती दोभानमा गोठाला गएका चार जनालाई नदीमा आएको बाढीले अलपत्र पारेपछि सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर खनाल कमाण्डको टोलीले उद्धार गरेको छ ।
टिप्पणीहरू