कच्चा कुरा बच्चाले पनि पचाउँदैन कमरेड !

कच्चा कुरा बच्चाले पनि पचाउँदैन कमरेड !

-दिनेश रायमाझी

राजनीतिक स्थायित्व र स्थिर सरकार नै विकास र समृध्दिको पहिलो आधार हो भन्ने मान्यता राख्ने ओलीजी स्वयं नै देशमा राजनीतिक अस्थिरता खडा गरी अराजकता फैलाउन र त्यसैको आधारमा डिक्टेटोरियल रिजिम स्थापना गर्न ब्यस्त रहेको प्रतित हुन्छ । यसका लागि राष्ट्रपतिको पदीय गरिमा,दायित्व र कर्तव्यको चरम दुरुपयोग गरी दुई दुई पटक संसद् विघटन र १९ पटक मन्त्री हेरफेर गरिएको छ । यो कदमले ओलीको डेस्टिनेसन के हो भन्ने छर्लंग हुन्छ । एउटा जीवन्त दलमा कुनै पनि राजनीतिक,सैध्दान्तिक वा नीतिगत विषयमा फरक धारणा प्रकट हुनु एकदमै प्राकृतिक कुरा हो ।

यति लामो समय कम्युनिस्ट पार्टीको सदस्य र त्यो पनि एउटै पार्टीबाट निरन्तर राजनीति गरिरहेका ओलीजीले फरक मत प्रकट हुन्छ भन्ने नबुझिकनै अहिलेको झगडा निम्त्याइरहनुभएको छ भनेर मूर्खले पनि पत्याउँदैन । फरक मत प्रकट हुन्छन्,छलफल हुन्छन् र निर्णय भने दलको विधान, परिपाटी र लोकतान्त्रिक प्रक्रियाअनुसार हुन्छ भन्ने कुरा सफासँग जान्ने मान्छेले दलभित्रको विवादलाई सरकार सञ्चालनसँग जोडेर सरकारलाई काम गर्न बाधा पुर्याउने काम भयो भन्ने फर्जी कुरा गर्नु र संसद् विघटनमार्फत नयाँ जनादेश लिन चुनावमा जानु अत्यन्तै हास्यास्पद, अस्वाभाविक र संविधानतः नमिल्ने काम हो । बहुमतसहित छँदाछँदैको संसद् भंग गरेर विभाजित मनस्थितिमा रहेको दलले के नाममा भोट माग्ने हो र कुन नाक लिएर जनतासामु जाने हो,गइहाले पनि ल्याण्डस्लाइड जीत कुनै पनि हालतमा नआउने जान्दाजान्दै यस्तो काम फगत दलभित्रका विरोधीलाई तह लगाउनकै लागि मात्रै गरिएको कदापि होइन ।

पार्टी एक रहे न चुनाव जित्ने हो ! कांग्रेससँग पपुलर भोटको अन्तर कति छ,कहिल्यै जानकारी लिनुभएको छ ?

नाकाबन्दीकालमा ओली कमरेडको इमेज वास्तवमै एकप्रकारले टावरिङ फिगर,सच्चा राष्ट्रवादी र त्यसकारण कम्युनिस्ट नेताको बनेकै हो । एक खर्ब बीस अर्ब बार्षिक आम्दानी हुन्छ भनेर कुनै सन्दर्भमा बोलेको सफेद झूठ पनि छोपिएकै हो । तर यसमा अलि गहिरिएर बुझ्ने कुरा के छ भने धेरै गैरकम्युनिष्टले कम्युनिस्टहरूले भन्दा धेरै अघि बढेर उहाँमा राष्ट्रवाद देखेका थिए । हामीले भन्दा तिनैले नै धेरै तारिफ गरेका थिए । तर जेसुकै भए पनि,यो राष्ट्रवादी छवि यति गह्रौं भयो कि ओलीजीले त्यो भार धान्नै सक्नुभएन ।

यो अन्तिम पटकको संसद विघटन र ठाकुर–महतोसँगको गठबन्धनले राष्ट्रवादको लेपन पुरै उप्किएको छ वा भनौं नीर मसीमा डुबेर सिंह बनिरहेको स्यालको जस्तो अवस्था बनेको छ ओलीजीको छवि । गैरकम्युनिष्टहरूले निर्माण गरिदिन चाहेको छवि कतै सुनियोजित त थिएन ? किनभने नेपाललाई एक्काइसौं शताब्दीको समाजवादको केन्द्र बनाउन सकिने सामर्थ्य र अवसर जनमतमार्फत नेकपा र त्यसका नेता कमरेड ओलीजीलाई प्राप्त थियोे तर यतातिर नलागेर ती तारिफकर्ताहरूको साथमा हिँड्ने काम गरिरहनुभएको छ।

छवि स्खलनको यो स्पिडलाई ओलीले किन अनदेखा गर्दै हुनुहुन्छ ? यो अत्यन्तै संवेदनशील र रहस्यमय सवाल हो । आफूले नेतृत्व गरेको दल र यसको लिगेसीसमेत ध्वस्त हुने अवस्थामा पनि संसद पुनःस्थापना गर्न नचाहने,चुनावमै जाने र फुटको डिलमा पुगेको आफ्नै दललाई एकताबध्द गर्न रुचि नराख्ने कुराले उहाँ फरक मकसदसाथ अघि बढिरहेको वा उहाँलाई कसैले बढाइरहेको छ भन्नेतर्फ इंगित गरिरहेको छ ।

देश महामारीले आक्रान्त बनेको छ । रोजगारीका सबै क्षेत्र बन्द छन्। भ्याक्सिन गफमा मात्रै आउने, यथार्थमा नआउने वा धेरै ढिलो गरी आउनेजस्तो छ । जनताले भोग्न परिरहेका यी स्वास्थ्यसम्बन्धी,रोजीरोटीसम्बन्धी सवालको समाधान कसरी गर्ने भन्नेतिर ध्यान छैन र रुचि पनि देखिन्न।
जनता रोगले त मरेकै छन्,भोकले पनि मर्नुपर्ने दिन अब धेरै टाढा छैन । तर ओलीको अर्जुनदृष्टि कसरी अदालतलाई प्रभावमा पार्ने, संसद विघटन र नयाँ चुनाव गर्ने घोषणालाई कानुनी तरिकाले सही ठहर्याउनेमा छ।

पार्टी एक रहे न चुनाव जित्ने हो ! कांग्रेससँग पपुलर भोटको अन्तर कति छ,कहिल्यै जानकारी लिनुभएको छ ? कसका बलमा जितिएला चुनाव ? केही राजकीय तथा अन्य आय हात लाग्ने पदमा बसेका,भातभान्सा चलाउन दानापानी प्राप्त गरिरहेका भक्तहरूको बलमा यदि चुनाव जितिन्छ भन्ने निश्कर्ष हो भने योभन्दा हास्यास्पद,अनाडी र बचकाना निश्कर्ष अर्को हुनैसक्दैन । तर मकसद यो होइन नै । यो सारा प्रपञ्चको एकमात्र लक्ष्य भनेको संसद खाने,संविधान खाने, एमाले खाने र अन्तमा सिङ्गो कम्युनिस्ट आन्दोलन खाएर नेपालमा नियन्त्रित अस्थिरता सहितको निर्देशित प्रजातन्त्र स्थापित गर्ने हो । र यो भनेको प्रकारान्तरले गुलामी राजको स्थापनागर्ने नै हो ।

तर के कुरा अनुमान गर्न सकिन्छ भने यदि त्यो तत्व भनिएजस्तो राज स्थापना गर्न समर्थ भएछ,नेपाली जनता यो लोकतान्त्रिक प्रणालीलाई जोगाउन असमर्थ भएछन् भने पनि त्यो गुलामी राजको नेतृत्व समेत ओलीजीको नसिबमा छैन, यो कुरा भने पक्का हो । तर दृढभरोसा के छ भने प्रतिगमन अवश्य हार्नेछ,हार्छ।

टिप्पणीहरू