मनाङमा मस्र्याङ्दी नदी थुनियो, सतर्क रहन आग्रह
मनाङको चामेमा मस्र्याङ्दी नदी थुनिएको छ । सोमबारदेखिको अविरल वर्षाका कारण चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मस्र्याङ्दी नदी थुनिएको हो । नदीमा ताल बन्दा तल्लो तटीय क्षेत्र जोखिममा परेको छ । ताल बनेका कारण माथिल्लो मनाङ जाने बेलिब्रिज समेत बन्द भएको छ ।
थुनिएको छेउबाट नदी बगेपनि जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बहाव बढेको छ । त्यसैले तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सर्तक रहन बेलैमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभएको छ । चामेको पारीपट्टीको भाग डुबानमा परेको र सिंगो चामेबजार नै जोखिममा परेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार चामे हुँदै आएको बाढीसहितको ढुंगामुढाले मस्र्याङ्दीमा ताल बनाइदिएको हो । नेपाली सेनाले बम विष्फोट गराएर भए पनि नदी खुलाउने प्रयास गर्ने बताएपनि वर्षा नरोकिएकाले समस्या भएको प्रजिअ लामीछानेले बताउनुभयो । उहाँले भन्नुभयो ‘सुरक्षाका सबै निकायसँग आवश्यक समन्वय गरी सुरक्षितसँग नदी खुलाउने प्रयासमा छौं ।’
टिप्पणीहरू