महन्थ खेमालाई जोरका झट्का, सिंहदरबार छिर्नेको चिल्लीबिल्ली
झण्डा हल्लाएर सिंहदरबार छिरेको दुई साता नबित्दै पद खोसिएपछि मन्त्रीका लागि पार्टी फुटाउने र गुट फेर्नेहरुलाई ठूलो झट्का लागेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको पछिल्लो दुई क्याबोनेट विस्तारलाई सर्वोच्च अदालतले रध्द गरिदिएपछि जसपाको महन्थ ठाकुर खेमा,पूर्व माओवादी र एमालेकै कतिपय नेता मर्कामा परेका छन् ।
पार्टी फुटाउनसमेत तयार भएर ओली क्याबिनेटमा मिसिएको महन्थ खेमालाई अदालतको फैसलाले सबैभन्दा ठूलो झट्का दिएको छ । सिंहदरबार छिर्न प्रधानमन्त्री ओलीसँग गरेका अन्य सहमति अलपत्र परेका बेला अदालतले मन्त्री फ़ुस्काइदिएपछि महन्थ खेमालाई राजनीतिक रुपले सरकारमा जाने निर्णयको पुस्ट्याइ गर्न पनि नसक्ने अवस्थामा पुर्याइदिएको हो ।
महन्थ खेमाकै लागि भनेर सरकारले ल्याएको नागरिकता अध्यादेश सर्वोच्चले नै रोकिदिएको छ । यता प्रतिनिधिसभा विघटन भएको अवस्थामा बनाइएको दुई पार्टी सम्मिलित संविधान संशोधन कार्यदल पनि औचित्यहीन बनेको छ । महन्थ खेमाले प्रतिष्ठाको विषय बनाएको रेशम चौधरीको रिहाइ प्रक्रिया पनि त्यसै अड्किएर बसेको छ ।
यता,माओवादी छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादललाई पनि अदालतको आदेश सकसपूर्ण हुने देखिएको छ । श्रीमतीलाई मन्त्री बनाएको भन्दै पूर्वमाओवादी समूहभित्रै आलोचना खेप्न परिरहेका बेला १२ दिनमै पद गुमेपछि थापालाई नमीठो झड्का लागेको हो ।
अदालतकै आदेशबमोजिम आफूले मन्त्री पद गुमाउनुपरेपछि थापा श्रीमती नैनकलालाई गतिलो मन्त्रालय दिलाउन सफल हुनुभएको थियो । त्यसो त,माओवादी छोडेपछि थापाका लागि यो तेस्रो झड्का हो । यसअघि उहाँ आफैंले मन्त्री पद गुमाउनु परेको थियो भने राष्ट्रियसभा सदस्य निर्वाचनमा पराजित हुनुपरेको थियो ।
माधव नेपाल समूहमा लागेर राजनीतिक हाइट उठाएका र पछिल्लो समय उछिट्टिएर बालुवाटारतिर पुगेका नेता पनि अदालतको आदेशले अप्ठेरोमा परेका छन् । गुट फेरेबापत पुरस्कृत भै मन्त्री बन्नुभएका सिन्धुलीका गणेश पहाडीको १२ दिनमै सिंहदरबार यात्रा टुंगिएको छ । पहाडीमाथि सामान्य प्रशासन मन्त्री बन्नैका लागि अन्तिम समयमा ओली कित्तामा लागेको आरोप छ । अब तत्कालका लागि उहाँको सिंहदरबार यात्रा रोकिएको छ ।
यता,ओली क्याबिनेटमा शुरुदेखि नै नछुटेका रघुवीर महासेठ दम्पत्तिले अब केही समय पद बाहिरै बसेर रमाउनुपर्ने भएको छ । महासेठ त्यस्तो भाग्यमानी नेता हो, जो ओलीको अघिल्लो क्याबिनेटमा भौतिक योजना मन्त्री हुँदा कार्यसम्पादनमा कमजोर भनेर फालिए पनि यसपटक बढुवा भएर सिहंदरबार छिर्नुभएको थियो ।
गुट फेरेर पति-पत्नी पालैपालो मन्त्री हुन सफल यो जोडीलाई पनि अदालतको आदेशले नराम्रो झट्का दिएको छ । आफू माधव नेपाल समूहमा हुँदा श्रीमती जुली महतोलाई ओली क्याम्पमा पठाएर मन्त्री बनाउन सफल हुनुभएका महासेठ गुट फेरेपछि बढुवा भएर उपप्रधानमन्त्री बन्नुभएको थियो ।
प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेको कामचलाउ सरकारले गरेको क्याबिनेट हेरफेर संविधान विपरित भएको भन्दै सर्वोच्चमा मुध्दा परेको थियो । सोउपर सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राना र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले क्याबिनेट विस्तारलाई असंवैधानिक ठहर्याएर मन्त्रीहरुलाई आज नामै तोकी पदमुक्त गर्न आदेश दिएको छ ।
भएभरका मन्त्रीलाई सर्वोच्च अदालतले नामै किटेर पदमुक्त गरेपछि ओली क्याबिनेट अब पाँच सदस्यमा सीमित भएको छ । ओलीसंगै अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ मात्र अब क्याबिनेटमा रहनेछन् ।
टिप्पणीहरू