न्यायालयमा प्रचण्डपथको छायाँ पर्यो-प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि त्यसको असर अहिले सर्वोच्च अदालतमा समेत परेको बताउनुभएको छ । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली काँग्रेस आफ्नो सिद्धान्त र विचारलाई छाडेर प्रचण्डपथमा हिंडेको बताउनुभएको हो ।
उहाँले काँग्रेसका नेताहरूले महात्मा गान्धीको हत्याराजस्तै अर्को नाथुराम गोड्सेको खोजी गरेको र फेला नपर्दा आफैँ गोड्से बन्ने तहमा पुगेको दावीसमेत गर्नुभएको छ । भन्नुभयो ‘नेपाली काँग्रेस प्रचण्डपथमा हिँडेपछि, नेपाली काँग्रेसका नेताहरू नै नाथुराम बन्न खोज्नु भनेको उनीहरूले प्रचण्डपथ नै अँगाल्नु हो । काँग्रेसले त्यसलाई मार्गदर्शक सिध्दान्त बनाएपछि अहिले प्रचण्डपथवारे सुप्रिम कोर्टमा समेत चर्चा हुन थालेको छ । प्रचण्डका एकजना कार्यकर्ताले उक्त कुरो सर्वोच्चमा नै उठाएका छन् ।’
प्रधानमन्त्रीले सर्वोच्च अदालतभित्रै हिंसालाई दुरुत्साहन गर्ने कार्य भइरहँदा समेत मौन बसेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूको भूमिकामाथि नै असन्तुष्टी जनाउनुभएको छ । उहाँले भन्नुभयो,‘सर्वोच्च अदालतले हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेन । हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न भनेर न्यायमूर्तिहरूले विद्वान अधिवक्तालाई आफ्नो वक्तव्य सम्हाल्न आदेश दिनुपर्दैन ?’
“हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न भनेर न्यायमूर्तिहरूले विद्वान अधिवक्तालाई आफ्नो वक्तव्य सम्हाल्न आदेश दिनुपर्दैन ?”
प्रधानमन्त्रीले एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई शेरबहादुर देउवाको कार्यकर्ता र प्रचण्डको पुच्छर भएको टिप्पणीसमेत गर्नुभएको छ । नेपालले कसैको नाम उल्लेख नगरी आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भनी जनतामाझ झुटको राजनीति गरेको प्रधानमन्त्रीले आरोपसमेत लगाउनुभएको छ ।
उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । मलाई बौलाहा कुकुरले टोकेको छ र ! माधव नेपालले आफैँ भन्दै हिँडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे, तर म मान्दिनँ । म शेरबहादुर देउवाप्रति यति समर्पित छु । म देशलाई,पार्टीलाई,जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने कसम खाएको छु । देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु ।’
“प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । मलाई बौलाहा कुकुरले टोकेको छ र !”
उहाँले अगाडि भन्नुभयो ‘नेपालले शेरबहादुर देउवाको पार्टी नै ज्वाइन गर्न पनि सक्छन् । कार्यकर्ता भएर त हिँडेकै छन् । प्रचण्डको पार्टी त उनलाई ज्वाईन गर्नु नै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ, माधव नेपाल प्रचण्डको एउटा मामुली कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । मलाई बहुला कुकुरले टोकेको छ र ? कोही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’
नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैँ आफ्नो महत्व बढाएर झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभएको छ । उहाँका अनुसार नेपाल कम्युनिष्ट विचारधारा,सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भइसकेका छन् ।
“केही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”
नेता नेपाललाई जन्तुसँग तुलना गर्दै उहाँले भन्नुभयो ‘यिनी एक ढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पूर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पूर्वतिर हुन्छ । फर्किन्छ तर पछाडि पछाडिसँगै हुन्छ क्या त्यो ! उनी यता जाऊँ भने पछिपछि त्यतै लाग्छ । काँग्रेसतिर जाऊँ भनेपछि त्यतै पछिपछि लाग्छ ।”
नेता नेपालप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीले माधव नेपाल भन्ने एकजना काँग्रेसका पछाडि कुद्ने मान्छेलाई अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्न थालेको बताउनुभयो । उहाँको चर्चा यतिसम्म पनि मान्छे पतन हुनसक्दो रहेछ भन्ने ढंगले भएको प्रधानमन्त्रीको आरोप थियो । ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिष्ट आन्दोलन सिध्याउने,अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने । यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले होइन नकारात्मक हिसाबले मात्र हुन्छ । किनभने गान्धीको मात्रै चर्चा हुँदैन, नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।’
“यस्तो लाजशरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले होइन नकारात्मक हिसाबले मात्र हुन्छ । किनभने गान्धीको मात्रै चर्चा हुँदैन, नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।’
उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीतिभन्दा अवसरवादी स्वार्थको राजनीतिमा लागेको टिप्पणी गर्दै छेपारोको संज्ञा दिनुभएको छ । दाहालले छेपारोले जस्तै स्वार्थ र परिवेशअनुसार धारणा बदल्दै हिँडेको टिप्पणी प्रधानमन्त्री ओलीले गर्नुभएको छ । लोकतान्त्रिक शासन प्रणालीविरुद्ध नै सशस्त्र युद्ध गरेर ठूलो मानवीय क्षति पुर्याएका दाहालले कहिले गणतन्त्र आफूले ल्याएको त कहिले गणतन्त्रभन्दा राजा नै राम्रो भन्दै हिँडेको समेत उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो भने । तर मान्छेले छक्क माने । किन छक्क मान्ने ? छेपारोले रंग छिन छिनमा फेर्छ । खैरो मुढामा गयो भने खैरो खैरो खालको रंग बनाउँछ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो कालो बनाउँछ । छेपारोले रंग फेर्छ त ।’
प्रधानमन्त्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई ‘नीलवर्ण संहार’ कथाको पात्र जस्तो चरित्रको व्यक्ति भएको विशेषण भिराइदिनुभएको छ । प्रचण्डको काम नै देशलाई बर्बाद पार्ने उल्लेख गर्दै उहाँले दाहाललाई समेत पृथकतावादीहरूलाई राजनीतिको मूलधारमा ल्याएजस्तै लोकतान्त्रिक मार्गमा ल्याउन जरुरी रहेको बताउनुभयो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकामाथि पनि तिखो टिप्पणी गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेको आरोप लगाउँदै आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा काँग्रेसलाई समर्थन गरेको दाबी गर्नुभएको छ ।
टिप्पणीहरू