बालुवाटारमा ओलीको ब्रिफिङ्ग, संसदीय दलभित्र हामी अप्ठ्यारोमा थियौं
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपाको संसदीय दलमा आफूले बहुमत गुमाएकाले प्रतिनिधिसभा विघटनमा जानुपरेको संकेत दिनुभएको छ । हिजो बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएको स्रोतले जानकारी दिएको छ ।
माओवादीसँगको एकतादेखि एमालेको वर्तमान अन्तरविरोधसम्मको लामो व्याख्या गर्नुभएका ओलीले संसदीय दलमा पकड गुमेपछि संसद विघटन आफ्नो बाध्यता भएको सुनाउनुभएको हो ।
‘पार्टीमा समस्या आयो,संसदका कतिपय साथीहरुमा कन्फ्युजन थियो,हामीले बुझाउन सकेनौँ । यता सबै साथीहरु नउभिएकाले बहुमत पुर्याउन सकिएन । यता नपुगे पनि उता रोक्न सफल भइयो’,
ओलीको भनाइ उद्दृत गर्दै स्रोत भन्छ, ‘सिधै त भन्नुभएन तर भूमिका बाँधेर उहाँले संसदीय दलमा अल्पमतमा परेको स्वीकार गर्नुभयो ।’
बहुमत नरहेपछि जिध्दी गरेर जवर्जस्ती प्रतिनिधिसभा विघटन गरेको आशयसहितको ब्रिफिङ्ग गरिएको स्रोत बताउँछ । सो क्रममा ओलीले आफूतिर बहुमत जुटाउन नसके पनि अर्को पक्षलाई रोक्न सकेकोलाई उपलब्धिका रुपमा विश्लेषण गर्नुभएको थियो ।
‘पार्टीमा समस्या आयो,संसदका कतिपय साथीहरुमा कन्फ्युजन थियो,हामीले बुझाउन सकेनौँ । यता सबै साथीहरु नउभिएकाले बहुमत पुर्याउन सकिएन । यता नपुगे पनि उता रोक्न सफल भइयो’,बैठकमा ओलीले भनेको कुरा स्रोतले सुनायो ।
तत्कालिन नेकपामा अन्तरविरोध चर्किंदै जाँदा सचिवालय,स्थायी कमिटी,केन्द्रीय कमिटी र संसदीय दलमा ओली अल्पमतमा पर्नुभएको थियो । संसदीय दलको नेतासमेत रहनुभएका ओलीले त्यतिबेला प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्नुपरे कुर्सी भाँचिदिने चेतावनी दिएको चर्चासमेत चलेको थियो । यस्तै परिस्थितिवीच प्रचण्ड र माधव नेपाल समूहले ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।
टिप्पणीहरू