रित्तो बैंक खाताको नाममा लाखौंको चेक दिने पक्राउ

रित्तो बैंक खाताको नाममा लाखौंको चेक दिने पक्राउ

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका काठमाडौं गोकर्णेश्वर नगरपालिका–७, जोरपाटी बस्ने रामेछापको खाँडाखेती गाउँपालिका–७, स्थायी घर भएका ४६ वर्षीय सानुकाजी महतलाई प्रहरीले आज पक्राउ गरेको छ ।

उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा दोषी ठहर गरी २०७७ पुस १४ र माघ १८ गते १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवानाको फैसला सुनाएको थियो ।

सजाय सुनाएपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जबाट खटिएको टोलीले जोरपाटीबाट पक्राउ गरेको हो ।

२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त रकम नभएको अवस्थामा जानी जानी झुक्याउने नियतले नेपाल इन्भेष्टमेण्ट बैंक र एनसीसी बैंकमा रहेको खाताबाट भुक्तान हुनेगरी पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको चेक दिएका थिए ।

तर, चेक बाउन्स भएपछि उनी विरुद्ध मुद्दा परेको थियो । आज पक्राउ परेपछि उनलाई फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू