रुकुममा काँग्रेस कार्यकर्ताद्वारा माओवादी कार्यकर्ता घाइते, हेलिकोप्टर अवतरण हुन सकेन
रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता वीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार साँझ आठबिसकोट नगरपालिका वडा नम्बर ३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादी कार्यकर्ताहरु गोपाल बि.क. र राजु बि.क. गम्भीर भाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुुख प्रहरी नायब उपरिक्षक धुर्वकुमार श्रेष्ठले बताए ।
खदीको तलिगाउँ र माथीगाउँमा रहेका माओवादी र काँग्रेस कार्यकर्ता वीच सामान बोक्ने घोडा र ट्याक्टर ठोक्किएको बिषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।
झडपमा संलग्न नेपाली काँग्रेसका गोपाल बोहरासहित केहिलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार भौगोलिक रुपले बिकट र संचार सम्पर्कसमेत हुन नसकेको घटनाको थप विवरण आउन सकेको छैन ।
यता नेपाली काँग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केहि कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियार सहित आक्रमण गरेर बेपत्ता बनाएको जनाएको छ ।
गम्भीर घाइते दुबैजनालाई उध्दारको लागि हेलिकोप्टर मगाईएतापनि खराब मौसमको कारण सम्भव नभएको श्रेष्ठले बताए । अहिले सडक पुगेको ठाउँसम्म एम्बुलेन्स पठाउने र घटनास्थलबाट स्टेचरमा आठबिसकोट नगर अस्पताल ल्याउने तयारी भैरहेको उनले जानकारी दिए।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र आठबिसकोट इलाका प्रहरी कार्यालयबाट थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिईएको डिएसपी श्रेष्ठले बताए ।
टिप्पणीहरू