विघटन बदर अगावै हस्ताक्षर फिर्ताको निर्देशन !
हिजो बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय कमिटीको बैठकअघि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायतले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नुभएको थियो । उहाँहरूले भेटमा अध्यक्षसँग पार्टी एकता गराउनको लागि बैठक केही दिन रोक्न अनुरोध गर्नुभयो ।
बालुवाटार स्रोत भन्छ, ‘सुरेन्द्र कमरेडहरूले आफूहरूको कुरो राख्नुभयो,प्रधानमन्त्री ओलीले पनि सुनिरहनुभयो । उहाँहरू उठेर हिँडेपछि कुरो सकियो ।’
हिजोको बैठकलाई १३ औं भनिएको छ । तर,जतिऔं भनेपनि यसरी पेलपाल गरेर बोलाइएका बैठक,कारबाही र आदेशको कुनै अर्थ नहुने अर्को पक्षको बुझाई छ ।
१३ औं बैठकमा नेता वामदेव गौतमले भने उपस्थित भएर आफ्ना धारणा नै राख्नुभयो । सम्भवतः बिहीबार पठाइएको दोस्रो इमेलमा उपाध्यक्ष लेखेपछि गौतम दङ्ग पर्दै बैठकमा जानुभएको आँकलन गरिएको छ । त्यसअघि उहाँले नेपाल पक्षका केही नेतासँगको कुराकानीमा नजाने आशय व्यक्त गर्दै कसैलाई नजान भन्नु पनि भएको थियो ।
यसअघि कार्यदलमा कतिपय नेताले एक हप्ताभित्र कुरो मिल्ने बताउनुभएको थियो । अहिले पनि उहाँहरूले छिट्टै एकता हुने बताइरहनुभएको छ । मङ्गबार संसद पुनर्स्थापना हुने भएरै त्यसलाई छेक्न सोमबार बेलुकासम्म हस्ताक्षर फिर्ताको निम्ति म्याद दिइएको बुझ्न गाह्रो छैन ।
हुन पनि प्रधानमन्त्री ओली राजनीतिक रुपमा पहिलेभन्दा निकै कमजोर बन्नुभएको बताइँदै छ । उहाँ प्रतिनिधिसभा ब्युँतिएपछि प्रधानमन्त्री निरन्तरताको लागि जे गर्न पनि तयार हुनुभएको सहजै अनुमान गर्न थालिएको छ ।
यसअघि आफू शक्तिशाली हुँदा पार्टीभित्र भिन्न विचार राख्दै आएका अर्को पक्षका कमरेडहरूलाई उठबस गराउनेसम्मको तयारी भएको सन्देशहरू बालुवाटारबाट प्राप्त भएका थिए । तर राजनीतिक रुपमा जब्बर देखिनुभएका कमरेडहरूले बिधानमा लेखिएबमोजिमका कार्यलाई पद्धतिसम्मत ढंगले कार्यान्वयन नगरेसम्म त्यस्ता चेतावनीयुक्त सन्देशको कुनै अर्थ नरहने बताएपछि ती सबै पानीको फोका झैँ क्रमशः बिलाउन थालेको हो भनिन्छ ।
टिप्पणीहरू