लत्रिए कि उत्रिए, सुध्रिए कि उध्रिए
एमाले अध्यक्ष केपी ओलीमाथि ‘लत्रिए’ को आरोप लागेको छ, आइतबार बसेको स्थायी कमिटी बैठकमा । ओलीले भनेका थिए, ‘अब संविधान संशोधनको प्रस्ताव अघि सार्ने भए । कमल थापाहरु पनि उतातिर टाँस्सिन खोजेजस्तो बुझिन्छ । एमालेलाई एक्ल्याउन लागेजस्तो छ । यद्यपि, कमल थापाले त्यसो गर्लान्जस्तो मलाई लाग्दैन । पशुपति समशेरसँग मिलेपछि बाध्यता बनेको भए अर्कै कुरा !’
उनले सुनाए, ‘प्रचण्ड र देउवा दुवैसँग भेट हुँदा भन्ने गरेको छु कि मलाई हटाउने तपाईंहरुको साझा एजेण्डा थियो, हटाइहाल्नुभयो । त्यो एजेण्डा सकियो । अब तीन पार्टी मिलौँ । चुनावमा जाऔँ, संविधान कार्यान्वयनको बाटोमा पनि जाऔँ । देशको कुरामा एक भएर लागौँ । स्थानीय, प्रादेशिक र केन्द्रीय संसदको चुनाव पनि गरौँ । यस्तो सजिलो प्रतिपक्षी तपाइँहरुले हत्तपत्त पाउनुहुन्न । मेरो कुरा सुनेपछि उनीहरु कुरा त ठीक ग¥यौ भन्छन्, तर आँट्दैनन् ।’
एक नजर लगाएर कुरा सुनिरहेका उपाध्यक्ष वामदेव गौतमले ओलीले बोलिनसक्दै भने, ‘खुट्टा लड्खडाउनुभयो कि क्या हो ? संशोधन प्रस्ताव दर्ता गर भन्ने अनि अहिले हाउस चल्न दिन्नँ भन्ने ?’
वामदेवको आशंका निवारण गर्न सचिव शंकर पोखरेल तम्सिए, ‘अध्यक्षले त्यो आशयले बोल्नुभएको होइन’ भन्दै । वामदेवले नरोकिइकन भने, ‘यसरी डिफेन्स गरेर अध्यक्षको कमजोरी ढाकिन्न कमरेड ! अध्यक्षको कमजोरी ढाकेर कोही ठूलो मान्छे हुँदैन !’
ओलीले सुनाएअनुसार, देउवाचाहिँ ‘कुरो त हो नि यार, सबै मिले ठीक हुन्छ’ भन्छन् । तर, संशोधन प्रस्ताव दर्ता गर्नैमा समस्या छ । संशोधन संसद् सचिवालयमा दर्ता गरेमात्र पनि पुग्छ । पास हुने, नहुने कुरा अर्को भयो । तर, कांग्रेस र माओवादी त्यसो पनि गरिरहेका छैनन् । यसको कारण हो, एमालेका कारण गर्न सकिएन भनेर हल्ला चलाउने र नै सबै कुराको बाधक हो भनेर तराई मधेसमा खुइल्याउने । एमाले नेताहरुले ठहर गरेका छन्, सत्ताधारीहरूले ल्याउने भनिएको संशोधन ‘फेस सेभिङ’ का लागि मात्र हो । हिजो ओली सरकार ढाल्दा मधेसीसँग भएको सम्झौता लागु गर्न चाहेको भन्ने देखाउन पनि त्यसो गर्छन् ।
तर, संशोधनको कुरा कांग्रेसकै एउटा तप्काले चाहेको छैन । स्वयं मधेसी दलहरु पनि त्यति चाहना राखिरहेका छैनन् । कारण हो, संशोधन भयो भने उठाइरहने मुद्दा नै उनीहरुसँग हुँदैन । त्यसैले यो मुद्दा थाती राखेर चुनावमा जान चाहन्छन् । पहिला पनि संविधानको धारा ४२ संशोधन भएकै हो । तर, मधेसीहरु सहमतिमा आएनन् । त्यसैले एजेण्डाविहीन हुने रहर मधेसी दलमा छैन ।
बैठकमा सुनाइएअनुसार, शेरबहादुरलाई प्रधानमन्त्री भइहाल्नेबाहेक अर्को रहर छैन । माओवादीमा पनि प्रचण्ड एक्ला सिकन्दर हुन् । उनको आलोचना गर्ने बैद्य, बाबुराम, विप्लवहरु आ–आफ्नो बाटो लागिसकेका छन् । एमालेहरु तीनतिर मुख फिँजाएर बसेका छन् । समस्या यहीँ छ ।
टिप्पणीहरू