कीर्तिपुरमा विद्यार्थी र प्रहरी रातभर जाग्राम

कीर्तिपुरमा विद्यार्थी र प्रहरी रातभर जाग्राम

त्रिभुवन विश्वविद्यालयले हालै निर्धारण गरेको शुल्क खारेजी, एमफिल र पिएचडीका अनुसन्धानात्मक कार्यहरू निःशुल्क हुनुपर्ने माग राख्दै आन्दोलित विद्यार्थीहरूले गए रातभर उपकुलपतिको कार्यालयमा जागा बसेर धर्ना दिएका छन् ।

हिजो दिउँसो उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले खुलाउन खोजेको भन्दै विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले रातभर धर्ना दिएको हो । विद्यार्थीहरू जागा बसेपछि प्रहरीले पनि रातभर उनीहरूलाई पहरा दिएको थियो ।

रातभरको धर्नामा त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिमा आवद्ध अखिल क्रान्तिकारी वैद्य समूहका केन्द्रीय सदस्य सँघर्ष दाहाल,नेकपा एमाले माधव नेपाल निकट अखिलका केन्द्रीय सदस्य तथा अनेरास्ववियु त्रिवि इकाइका अध्यक्ष प्रेम विश्वकर्मा,मनिषा कार्की,नेकपा (विप्लव समूह) त्रिवि इकाइ सदस्य प्रेम चलाउनेलगायत झण्डै डेढ दर्जनको सहभागिता थियो ।

उक्त समूह असार १३ गतेदेखि आन्दोलित छ । त्यसअघि असार १५ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाएर दुई दिनको अल्टिमेटम दिएको समितिले निरन्तर आन्दोलन गर्दै आएको छ ।

यसैबीच विश्वविद्यालय प्रशासनले विद्यार्थी संघर्ष समितिलाई आज दिउँसो ३ बजे वार्ताको निम्ति बोलाएको बताइएको छ ।

टिप्पणीहरू