काठमाडौंका खोप केन्द्रमा खोप अभाव भन्दै फर्काइयो

काठमाडौंका खोप केन्द्रमा खोप अभाव भन्दै फर्काइयो

सरकारले जेठ २५ गते कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा लगाउने सूचना जारी गरे पनि बिहानैदेखि लाइनमा बसेका बृद्धवृद्धाहरू कैयौंले खोप लगाउन नपाई फर्कनु परेको छ ।

उपत्यकाका निजामती अस्पताल, प्रसुती गृह,वीर अस्पताल, टेकुलगायत १३ स्थानमा काठमाण्डौं महानगरपालिकाकाले खोप केन्द्र तोकेको छ । खोप लगाउन बिहानैदेखि लाइनमा बसेका वृद्धवृद्धाहरू दिउँसोसम्म खोप लगाउन नपाएपछि सरकारको व्यवस्थापनदेखि आक्रोशित बनेका हुन् ।

उनीहरूले सही सूचना नदिएका कारण आफूहरूले दुःख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । काठमाडौं मीन भवनका उपेन्द्र पौडेलले बिहान ६ बजेदेखि लाइनमा बसे पनि दिउँसो २ बजेसम्म खोप लगाउन नपाएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘सरकारले खेलबाड गर्यो ।’

लामो समय लाइनमा बसेका वृद्धवृद्धाहरूलाई निकै गाह्रो भएको पौडेलको अनुभवले पनि देखाएको छ । ‘बेस्सरी गाहो भयो, प्रेसर–सुगर भएकाहरू धेरैजसो बाटोमै लडे’, पौडेलले बताउनु भयो । बानेश्वरका तेजबहादुर दाहालले बिहान ६ बजे निजामति अस्पतालमा लाइन बसे पनि दिउँसो २ बजेसम्म खोप लगाउन नपाएको दुःखेसो पोख्नुभएको छ । उहाँले ‘नालायक प्रशासन’ भन्दै आक्रोश पोख्नुभएको हो ।

यसबीचमा बजारमा खोपको कालोबजारी भएको समाचारसमेत बाहिरिएका छन् । कतिपयले राजधानीका नाम चलेका अस्पताल र क्लिनिकमा १० हजार रुपैयाँमा खोप लगाइएको अपुष्ट जानकारी दिएका छन् ।

सरकारले स्थानीय सरकार मार्फत जेठ २५ गते भेरोसेलको पहिलो मात्रा लगाएकालाई मंगलबार दोस्रो डोज लगाउने सूचना निकालेको थियो । काठमाडौं महागरभित्रका खोप केन्द्र व्यवस्थित नहुँदा वृद्धवृद्धाहरूले दुःख मात्र पाएका छैनन्, संक्रमणको जोखिमलाई समेत बढाएको छ ।

टिप्पणीहरू