प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता
देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन् । प्रकाश पाण्डे प्रदेश १ मा गएका छन् । टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेशको जिम्मेवारी आइलागेको छ । लक्ष्मण गुरुङ प्रशासनबाट लुम्बिनी प्रदेश गएका छन् । सुमन वैद्य बागमती प्रदेशबाट गण्डकी र हरिहर पौडेल लुम्बिनीबाट बागमती प्रदेश तोकिएका छन् । ओम जोशी सुदूरपश्चिमबाट प्रदेश २ (जनकपुर) जाँदा सुनील ढकाल र कूलदीप थापा विभागमा तानिएका छन् । यी दुईमध्ये एक जना प्रशासनमा जाने बुझिन्छ । दुबै जना प्रमुख अधिकृत गणेश अधिकारीका निकट मानिन्छन् ।
एसएसपीतर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्मा पठाइएको छ । माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित दूतावासमा खटाइएका छन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका इन्द्र लामालाई विभागमा फर्काएर चीफको लाइनमा रहेका लमजुङका किशोर श्रेष्ठलाई एयरपोर्टबाट विभागमा तानिएको छ । यसबाहेक आजभोलिमै डिएसपीहरुको सरुवा पनि निकाल्ने तयारी छ । विभागले राष्ट्रिय सुरक्षा परिषद्मा एकजना डिआइजी पठाउन सक्छ । तर, अहिलेसम्म कसैलाई पठाइएको छैन । गुप्तचर विभाग हाल प्रधानमन्त्रीको मातहतमा छ ।
त्यस्तै, सशस्त्र प्रहरीमा डिआइजी बढुवाको तयारी शुरु भएको छ । त्यहाँ अहिले तीन डिआइजी खालि भएमध्ये कालिदाश धौबजी र कमल न्यौपाने दुईजना पक्कापक्की भएका छन् । तेस्रो सिनियरले तालिम गरेका छैनन् । तेस्रोलाई छोडेर पाँचौँ र छैठौँमा जाँदा चेन अफ कमाण्ड बिग्रिन्छ भनेर अहिलेसम्म बढुवा सिफारिस नभएको सशस्त्रस्रोतले जनाएको छ । त्यस्तै, एक सय २० वटा नयाँ बिओपीका लागि गृहमा दरबन्दी माग गर्ने तयारी पनि चल्दैछ ।
उता, अहिलेको बाढी पहिरोबाट सर्वसाधारणको उद्धार गर्नुपर्ने सुरक्षाकर्मी नै संकटमा परेका छन् । रौतहटस्थित गौरमा रहेको सशस्त्रको बिओपी तीन दिनदेखि जलमग्न छ । पाँच फिट पानी जमेपछि त्यहाँ रहेका सशस्त्र प्रहरी अर्काको घरमा सरेका छन् । बाराको बरियारपुर बिओपीमा तीन फिट पानी जमेको छ । रौतहटकै छतवा बेसमा तीन–चार फिट पानी जम्नाले समस्या भएको छ । सप्तरीको तिलाठी बिओपी अलिअलि प्रभावित भएको छ । बराह बाहिनी पकली, सुनसरीको क्वार्टर र अस्पतालको भाग साढे दुई फिट डुबानमा परेको छ । धनुषाको मुसहरिया फरवार्ड बेस पनि जलमग्न छ । रामेछापको नयाँ भवनमा पानी जमेको छ ।
त्यसैगरी, नेपाल प्रहरीमा दुई डिआइजीको दरबन्दी थप भएपछि एक दर्जन एसएसएपीको दौडधुप शुरु भएको छ । ०४९/१२/११ भर्ना मिति भएका र अर्को वर्षको चैतमा घर जाने टोलीबाट डिआइजी बनाइनुपर्नेमा बालुवाटारमा ०५१ र ०५२ को टोलीलाई अगाडि बढाउने तयारी छ । ०५१ का सन्दिप भण्डारी, पोषराज पोखरेल, टेकप्रसाद राई, उमेशप्रसाद जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी, ०५२ का दीपक थापा, टेकबहादुर तामाङ, लालमणि आचार्य, भीमप्रसाद ढकालहरु दौडधुपमा छन् । तर, योभन्दा अगाडिको टोलीका प्रकाश अधिकारी, सुशील यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्यमध्येबाट डिआइजी बनाइएनन् भने पूरै टोली एसएसपीबाट घर जानुपर्ने अवस्थामा पुग्छन् ।
टिप्पणीहरू