एमालेले बाटो बिरायो भन्दै विप्लवमा प्रवेश
सत्तारुढ नेकपा (एमाले) दक्षिणपन्थी बाटोमा अग्रसर भएको आरोप लगाउँदै युवासंघका एक नेता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । आज एक विज्ञप्ति सार्वजनिक गर्दै युवासंघ बझाङ्गका नेता सुशील बोगटी एमाले छोडी नेकपामा प्रवेश गरेका हुन् ।
एमाले छोड्दै बोगटीले एमालेले देश र जनताप्रति गरेको बाचाअनुसार काम नगरी दक्षिणपन्थी नवसंशोधनवादमा फसेको आरोप लगाएका छन् । उनले एमालेले देश र जनताप्रति घात गरेकाले त्यसकाविरुद्ध निरन्तर संघर्षमा होमिने अठोटसहित नेकपामा गएको बताए ।
‘म लामो समयदेखि नेकपा (एमाले) निकट युवासंघ बझाङ्ग जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएर काम गरिरहेको थिएँ । उक्त पार्टीले देश र जनताप्रति गरेको बाचा ‘सुखी नेपाली,संमृद्ध नेपाल’ को नारा नारामै सीमित रहेको र एमाले पार्टी दिनानुदिन दक्षिणपन्थी नवसंशोधनवादमा फस्दै गएर नेपाली जनता र राष्ट्रप्रति घात गरिरहेकाले मैले आजैका मितिदेखि नेकपा एमाले पार्टी परित्याग गरी नेपाली जनताको भाग्य र भविष्य कोर्ने एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर संघर्षमा होमिएको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा गर्दछु’, उनले भनेका छन् ।
बोगटीले नेकपाको नीति र विधिमा अडिग रही नेपाली जनताको सुनौलो भविश्य कोर्ने र भ्रष्टाचार,दलाल संसदीय व्यवस्थाका विरुद्ध निरन्तर संघर्षरत रही अगाडि बढ्ने प्रतिवद्धता पनि जनाएका छन् ।
टिप्पणीहरू