नेपाल वायुसेवाको आन्दोलनमा अरुको साथ

नेपाल वायुसेवाको आन्दोलनमा अरुको साथ

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत त्यहाँका ट्रेड युनियनहरूलाई अन्य संस्था तथा निकायका कर्मचारी संघ संगठनहरूले ऐक्यवद्धता जनाएका छन् ।

निगमलाई निजीकरण गर्न कम्पनीको प्रबन्धपत्र र नियमावली समेत बनाइसकिएको र निगमलाई बेच्न लागिएको भन्दै उक्त निर्णय फिर्ता लिन निगम आन्दोलनकारीहरूले माग गरेका हुन् । सञ्चालक समिति सदस्य एवम् महाप्रबन्धकको राजिनामाको माग सहित निगममा क्रियाशील ट्रेड युनियनहरुले राखेका छन् ।

आन्दोलनकारीहरूलाई अन्य संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले ऐक्यबद्धता जनाउँदै माग पूरा नहुञ्जेल आन्दोलन नरोक्न आग्रह गरेका छन् ।

यसबीच नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा,घाटासँग हेर्न नहुने र त्यहाँका कर्मचारीहरूको आन्दोलनमा आफूहरूको ऐक्यवद्धता रहेको बताए ।

आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रबन्धक नियुक्त गर्ने पार्टी संयन्त्रविरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । उनले अँध्यारो कोठामा दिइने नियुक्तिप्राप्त अधिकारीहरू देश र जनताप्रति जिम्मेवार नहुने पनि उल्लेख गरेका छन् ।

टिप्पणीहरू