तोला सुन र लगाएको गुण

  • रमण पनेरु

हुन त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दफा ३१ मा उल्लेख भएबमोजिम सार्वजनिक पदधारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हो तर पनि सत्ता सम्हालेको चार महिना बितेपछि मात्रै मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । यसअघि विवरण सार्वजनिकमा ढिलाइको विषयलाई लिएर निकै आलोचना भइरहेका थिए । सरकारले सय दिन मनाउँदासम्म समेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको सन्दर्भमा सबैको एकसाथ सार्वजनिक गरिने भनेर ढिलाइ गरिएको तर्क थियो । तर, जे होस्, जो अगुवा उही बाटो…. भनेजस्तै देशको प्रमुख अंगमा बसेकाहरूबाट यस किसिमको कानुन उपहास हुने व्यवहारले राम्रो नजिर भने पक्कै पनि स्थापित गर्दैन ।

समय–सीमा नाघेको कुराको आलोचना त एक ठाउँमा छ, सार्वजनिक विवरण पनि आफंैमा विवादास्पद छ । सबैभन्दा आलोचित हुने सम्पत्ति विवरण दोस्रो पटक  प्रधानमन्त्री भएका प्रचण्डकोे छ । २५ वर्ष पार्टी अध्यक्ष भएका अनि १० वर्षे जनयुद्धको सर्वोच्च कमाण्डरसमेत रहेका प्रचण्ड दुईपटक गणतन्त्र नेपालका प्रधानमन्त्रीसमेत भइसकेका उनको सम्पत्ति १ कठ्ठा जग्गा र ३ तोला सुन छ । अझ अचम्मको कुरा त यी सबै श्रीमतीको नाममा रहेको अनि सम्पत्ति पैतृक भएको विवरणमा उल्लेख छ । शायद सम्पत्ति विवरण समयमा प्रकाशन नभएको आलोचना बढेकाले होला, हस्ताक्षरमुनिको मितिसमेत केरमेट गरेर महिना दिनभित्रै बुझाइएको भन्ने पारिएको छ ।

उनलाई नेपालको इतिहासमा सुशील कोइरालापछिको दोस्रो गरिब प्रधानमन्त्रीको संज्ञासमेत दिइएको छ । कोइरालाको सम्पत्ति विवरणमा ३ थान मोबाइल मात्रै देखाइएको थियो । अविवाहित कोइरालाको सादगीपूर्ण जीवनका कारण सो विवरणका सम्बन्धमा उतिसारो टिप्पणी भएन । तर, कोइरालाको तुलनामा निकै नै विलासी जीवनशैली अपनाएका प्रचण्डको सम्पत्ति विवरणमाथि भने धेरैले आपत्ति प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा भएको चरम आलोचनापछि प्रचण्ड स्वयंले आफ्नो सारा सम्पत्ति पार्टीलाई बुझाइसकेको र सार्वजनिक सम्पत्ति विवरण नै वास्तविक भएको स्पष्टीकरण दिएका छन् । सम्पत्ति पार्टीलाई बुझाएको भनिए पनि उनको विलासी जीवनमा कहीँ–कतैबाट पनि कमी नआएकाले वा भनांै अझै त्यसमा स्तरोन्नति हुँदै गएकाले पनि भनाइप्रति अविश्वास बढेको अनुमान लगाउन सकिन्छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रचण्डको सम्पत्ति देखावटी भएको यो आरोप लगाइरहेका बेला केहीले सो सही भए विगतमा समेत चर्चा गरिएको बानेश्वरको मुक्ति टावर, पोखराको प्रकाश टावर, चन्द्रागिरी केबलकार, एनसेलको सेयर, नेपाल ग्यास, लाजिम्पाटको घर, बुलेट प्रुफ गाडी, हातको १७ लाख पर्ने भनिएको घडीलगायतबारे प्रश्न उठाएका छन् । वास्तवमा यस्तैखाले प्रश्न वैद्यपक्ष माओवादीबाट बाहिरिँदासमेत बाहिर आएको थियो । त्यतिवेला प्रकाशित प्रचण्डविरोधी ‘पहिले घडी अहिले घर’ शीर्षक लेखमा उनको हातको घडी र लाजिम्पाटस्थित मासिक १ लाख ५ हजार भाडा रहेको १० कोठे आलिसान घरबारे समेत लेखिएको थियो । उनको हातमा भएको रोलेक्स घडीलाई १७ लाखको भनेर त्यतिवेला उल्लेख गरिएको थियो भने सो घडी नवधनाढ्य अजेय सुमार्गीले दिएको भनेर ठोकुवा गरिएको थियो ।

पत्रकार भूषण दाहालले समेत सम्पत्ति सार्वजनिक भएलगत्तै घडीसहितको तस्बिर सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका थिए । त्यसको अलावा लाजिम्पाटस्थित घर उनलाई घडी उपहार दिएका भनिएका सुमार्गीकै जेठीसासू शिशु अर्यालका नाममा राखेर प्रचण्डले भोगचलनमा ल्याएको कुरा सोही लेखमा उल्लेख थियो । अचम्मको कुरा के छ भने शिशु अर्यालसँग घर किन्ने स्रोतमाथि समेत प्रश्न खडा गरिएको छ । यी आरोपको प्रत्युत्तरमा खासै केही कुरा बाहिर आएनन् ।

जनयुद्धकालमा लुटको धन आफ्ना छोरी ज्वाइँको नाममा भारतीय बैंकमा जम्मा गरेको आरोप लागेका प्रचण्डलाई बारम्बार अजेय सुमार्गीको नामसँग जोडिनु र सुमार्गीलाई उनको भ्रष्टाचार गरेर थुपारेको धनलाई वैध बनाउन खडा गरिएको पात्र भनेर आरोप लगाइनुपछाडिको सत्यता प्रमाणित हुन सकेको छैन । तैपनि, जुन व्यक्तिसँग बारम्बार जोडिन्छ उनैले दिएको घडी हातमा देखिनु अनि तिनै व्यक्तिकी जेठीसासूको नाममा रहेको घरमा बहाल बस्नु संयोग मात्रै होला भनेर मान्न सकिन्न ।

एक व्यापारीबाट देशको प्रधानमन्त्रीसम्म भइसकेको व्यक्तिले त्यत्रो बहुमूल्य उपहार लिनु कत्तिको उचित हो, स्वयंलाई थाहा होला । व्यापारी जसले हरेक पैसाबाट मुनाफा खोज्छ र हरेक खर्चलाई लगानीका रूपमा हेर्छ उसले कुन उद्देश्य परिपूर्तिका लागि त्यत्रो घडी उपहारस्वरूप प्रदान ग¥यो अनुसन्धानको विषय हुन सक्छ । त्यसको उत्तर प्रचण्ड स्वयंले दिने साहस गर्नुपर्छ । त्यसका अलावा विलासी जीवन जसको कतिपय पक्ष घामजस्तै छर्लंग छ, त्यसलाई पनि त्यो एक कठ्ठा जग्गा र ३ तोला पैतृक सम्पत्तिले कसरी धानेको छ भनेर स्पष्टीकरण दिन जरुरी छ । सार्वजनिक पदमा बसेका र देशको प्रमुख कार्यकारी भएकाले पनि उनले जवाफदेही हुनुपर्छ र जनताका गुनासाको उचित रूपमा संबोधन गर्नुपर्छ । आफूविरुद्धका हरेक आक्षेपलाई कहिले प्रतिपक्षीको षड्यन्त्र अनि कहिले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेल भनेर मात्रै मुक्ति पाउने पुरानो ढर्रा त्याग्नुपर्छ ।

पार्टीले उनको त्यो विलासी जीवनका लागि सम्पूर्ण खर्च व्यहोरेको छ भने पनि पार्टीकै आम्दानीको स्रोत सार्वजनिक गरिनुपर्छ । यति गरे मात्र प्रचण्डले आफूलाई चोखो भन्न पाउँछन् । होइन भने हरेक पटक शब्दजाल प्रयोग गरेर जनता भुल्याउने र त्यस्तै परे भावनात्मक कुरा गरेर अरूबाट सहानुभूति खोज्ने पुरानो तिकडमले राजनीतिक भविष्य अन्धकारमा धकेलिने निश्चित छ ।

टिप्पणीहरू