चिढिएकै हो त छिमेकी चीन ?

आफ्ना पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सचिवालय सदस्य लिउ छिपावोको नेपाल भ्रमण सन्तोषजनक नभएको चीनको बुझाइ छ । उनको भ्रमणलाई राष्ट्रपति सि चिनफिङको आगमनको तयारीका रूपमा हेरिएको थियो । तर नेपालका नेताले चिनियाँ चासो नबुझिकन दलार्ई लामाको पछि लाग्दा यतिबेला चीन नराम्ररी रिसाएको बताइन्छ ।

लिउ फर्किनासाथ सिचुवान प्रान्तका सचिव थाङ लियाङ नेपाल आएका थिए । उनी नेपालमै रहँदा एउटा पर्यटन कम्पनीले सिचुवानबाटै आफ्ना नागरिकलाई नजान उर्दी जारी ग¥यो । काठमाडौं महानगरपालिका र सिचुवान प्रान्तको सदरमुकाम चेङ्दुबीच भगिनी सम्बन्ध स्थापनामा हस्ताक्षर हुने अघिल्लो दिन गत बिहीबार ‘चाइना इन्टरनेशनल ट्राभल्स सर्भिस सिआइटिएस’ ले नेपाल भ्रमणका सबै कार्यक्रम रद्द गर्दै आफ्ना पर्यटकलाई नेपाल भ्रमण गर्न सुरक्षित नभएको सूचना निकालेको हो ।

चेङ्दु त्यस्तो शहर हो, जहाँबाट ८० प्रतिशत पर्यटक नेपाल आउने गर्छन् । त्यहाँबाट एअर चाइना र सिचुवान एअरलाइन्सले ल्हासा हुँदै काठमाडौंतर्फ उडान भरिरहेका छन् । उक्त कम्पनी चीनको अर्धसरकारी निकाय हो, जसले अन्तर्राष्ट्रिय भ्रमण गर्ने पर्यटकलाई एकीकृत हिसाबले नियन्त्रणमा राख्ने गर्छ । फलतः भूकम्पपछि बल्लतल्ल उठ्न लागेको नेपाली पर्यटन बजार फेरि थला पर्ने सम्भावना छ ।
वरिष्ठ चिनियाँ नेताको नेपाल भ्रमण सकिनासाथ र त्यही प्रान्तको कम्युनिस्ट पार्टीका सचिव नेपालमै रहँदा यस्तो सूचना जारी हुनु संयोग मात्र होला त !

चीनले आफ्ना नागरिकलाई नेपाल नजानु भनेर सोझै फर्मान ‘ट्राभल एड्भाइजरी’ जारी नगरे पनि एउटा एजेन्सीलाई लगाएर असन्तुष्टि पोखेको हुनसक्छ । आखिर किन असन्तुष्टि पोखियो भन्नेबारे जनआस्थाले केही तथ्य पत्ता लगाएको छ । नयाँ वर्षको शुरुआतसँगै आगामी तीन महिनासम्म दलार्ई लामाले कालचक्र सम्मेलन (जनवरी ३÷१४ बोधगया) लगायत विविध गतिविधि गर्ने भएका छन् । सो कार्यक्रममा भाग लिन तिब्बतीहरू नेपाल आएर विनाभिसा भारत जाने गर्छन् । चीनबाट भिसा लगाएर पर्यटक बनी नेपाल आएका तिब्बती स्थलमार्ग भएर विनाभिसा भारत जान्छन् र स्थलमार्गबाटै फर्कन्छन् । उनीहरूको पासपोर्टमा खुला सिमानाकोकारण नेपाल हुँदै भारत गएको कुनै प्रमाण देखिँदैन । उनीहरू भारत गएको अवधिमा पनि नेपालमै बसेको थिएँ भनेर झुक्याउने गर्छन् । यस्तो चलन पहिलेदेखि नै चल्दै आएको छ । चीनले नेपाललाई बारम्बार विनाभिसा तिब्बतीलाई भारत जानबाट रोक्नुप¥यो भनेर अनुरोध गर्दै आएको छ । अहिले यही कालचक्र सम्मेलनको कारण पनि नेपाल आउन चिनियाँलाई कडाइ गरिएको हुनसक्छ ।

ठूलो मात्रामा तिब्बतीहरु नेपाल भएर विनाभिसा भारत जाने हुनाले चीनले केही अवधिका लागि भए पनि रोक्न गृहमन्त्री विमलेन्द्र निधिसँग अनुरोध गरेको बताइन्छ । भिसा लिँदा तिब्बतबाट अर्को प्रान्त भएर जानुपर्ने भएपछि चीन सरकारले निगरानी राख्ने नै भयो । पासपोर्टको रेकर्डबाट भारत गएको पत्तो पाउँदा तिब्बतमा सोधपुछ र निगरानी गर्न सजिलो हुन्छ । त्यसकारण तिब्बतीका लागि सबैभन्दा सजिलो उपाय भिसा लगाएर नेपाल आउने र सुटुक्क भारत जाने हो । काठमाडौंबाट विभिन्न नाका हुँदै भारतको धर्मशाला लान भारतीय, नेपाली र तिब्बती दलाल सक्रिय छन् ।

नेपालको कुन–कुन ठाउँमा तिब्बती शरणार्थीका नाममा गतिविधि हुन्छ भन्ने कुरा चीनलाई राम्ररी थाहा छ । कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको गोवामा दलार्ई लामाका प्रतिनिधिसँगै बसेर एउटा कार्यक्रममा प्रमुख अतिथिको भूमिका निर्वाह गर्दा बाहिर त चीनले केही भनेन तर भित्रभित्रै सो कार्यको कडा आलोचना गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई सोध्यो, ‘किन यसो गरेको ?’ परराष्ट्रमन्त्री महत देउवाका दाहिना, त्यसमाथि उनी आफैँ भारत गइरहने हुनाले चित्तबुझ्दो जवाफ दिन सकेनन् ।

आफ्नो अनुरोधलाई परराष्ट्र र गृहमन्त्री दुवैले बेवास्ता गरेपछि चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नपठाउन अर्कै ढोकाबाट उक्त सूचना जारी गराएको बुझिएको छ । चीनको परराष्ट्र नीतिमा दलाई लामाको विषय अत्यन्त संवेदनशील र महत्वपूर्ण मानिन्छ । यही विषयमा उसले आफ्नो उत्तरी छिमेकी मुलुक मंगोलियालाई माफी मगाएको छ । यही बेला चिनियाँ नेताको नेपाल भ्रमणकै बेला मंगोलियाका विदेश मन्त्रीलाई पनि नेपालले बोलाएर अर्को केटाकेटीपन देखाएको छ । यस्ता थुप्रै कारणले चीनले असन्तुष्टि पोखेको परराष्ट्र मामिला विज्ञहरूको कथन छ ।

टिप्पणीहरू