ढुकुटीबाट एकदिन यत्तिका रकम धमाधम
आज चालु आर्थिक वर्षको अन्तिम दिन,सरकारी अड्डालाई भुक्तानी दिन र हिसाब मिलान गराउन भ्याई नभ्याई छ । सरकारी आम्दानी खर्चको लेखाजोखा राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आर्थिक बर्षको अन्तिम दिन झण्डै तीन खर्ब रकम एकै पटक निकासा हुँदैछ ।
आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति रोक्न संविधानमै १५ जेठमै बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि विकास बजेटतर्फ असारे भेल कस्तो टिठलाग्दो छ भने हिजो बुधबार एकै दिन सरकारी ढुकुटीबाट २९ अर्ब ६९ करोड ३७ लाख भुक्तानी गएको छ ।
यस्तै मंगलबार १२ अर्ब ८० करोड सरकारी ढुकुटीबाट खर्च भएकोमा सोमबार एकै दिन ९ अर्ब ५७ करोड खर्च भएको तथ्यांक भेटिन्छ ।
महालेखाको अनुसार ४ हप्तामा मात्रै झण्डै पौने तीन खर्ब निकालिएको छ । महालेखाको यो तथ्यांकअनुसार असार महिनामै एकै पटक सरकारी कोषबाट ६ खर्बभन्दा बढी रकम निकासा भएको छ ।
चालु आर्थिक बर्षमा विकासको काममा सिन्को भाँच्न नसक्दा एकै महिना झण्डै ६ खर्ब रकम निकासा हुने भएको हो । महालेखाको तथ्यांकअनुसार पछिल्लो एक साता सरदर दैनिक ९ अर्बका दरले निकासा भएको देखिन्छ ।
अस्ति आइतबार ५ अर्ब भुक्तानी भएकोमा,गत शुक्रवार ८ अर्ब ८५ करोड ६ लाखको चेक काटिएको छ । सोको अघिल्लो दिन अर्थात गत बिहिबारको आँकडा हेर्ने हो भने १३ अर्ब ८८ करोड भुक्तानी भएको देखिन्छ । यो एकै दिनको भुक्तानी तीन महिनाको भुक्तानीभन्दा बढी हो ।
कोषकै तथ्यांकअनुसार ७७ साउन १ देखि २०७७ असोज २८ सम्म १३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएको छ । तीन महिनामा भएको भुक्तानीभन्दा बढी भुक्तानी असारमा एकै दिन भएको तथ्यांकले देखाउँछ,यस्तै २५ असारमा एकैदिन १२ अर्ब २४ करोड ७६ भुक्तानी गएको छ । सबैभन्दा बढी भुक्तानीचाहिँ गत असार २३ र २४ गते २४ अर्बका दरले भुक्तानी भएको छ ।
२४ गते २४ अर्ब ७६ करोड ८७ लाख, २३ गते २४ अर्ब ४१ करोड १२ लाख भुक्तानी भएको छ । यी दुई दिनमा मात्र आधा खर्ब भुक्तानी भएको तथ्यांकले देखाउँछ । सरकारी आय व्ययको लेखाजोखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार महिनाका पछिल्ला २७ दिनमा मात्र ११ खर्ब २८ अर्ब भुक्तानी गएको देखिन्छ ।
यो भनेको औसतमा दैनिक ४ अर्ब १७ करोड हाराहारी हो ।
टिप्पणीहरू