योग्यलाई फालेर,”बा” भन्नेलाई पालेर..
सर्वोच्च अदालतको आदेशले केही दिनअघि मात्र सत्ताच्यूत हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रारम्भदेखि नै पार्टी र सरकार सन्चालनमा एकलौटी गरेको आरोप लागिरह्यो । संवैधानिक र राजनीतिक नियुक्तिहरूमा ओलीले गरेका एकपछि अर्को आफूखुशी निर्णयका कारण उत्पन्न तत्कालीन नेकपाको लफडाले अन्तत: विभाजनको बाटो लियो । अहिले एमाले झण्डै झण्डै फुट नजिक पुगेको छ । करिव दुई तिहाइ जनमतसहितको सरकार र शक्तिशाली कम्युनिष्ट पार्टी छिन्नभिन्न हुनुका पछाडि ओलीका एकलौटी निर्णय मुख्य जिम्मेवार रहेको आरोप छ ।
एसम्यान बन्न तयार हुनेलाई जुनसुकै मूल्यमा काखी च्याप्ने र सामान्य मतभेद राख्नेलाई भित्तामा पुर्याउने गरेको आरोप ओलीमाथि निरन्तर रुपमा लाग्ने गरेको छ । कतिपय घटनाक्रमले पनि त्यस्ता आरोप पुष्टि हुँदै आएका छन् । खासगरी विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्तिहरूमा ओलीले कसैलाई अत्याधिक काखी च्यापेको त कसैलाई दूधको झिङ्गा टिपेर फ्याँके जसरी मिल्काएको गुनासो सुनिँदै आएको हो । माधव नेपाल समूहले यसैलाई पार्टीभित्रको ओली प्रवृत्ति भनेर विरोध गर्दै आइरहेको छ ।
“जापानका लागि प्रोफेसर खड्ग केसीलाई राजदूतमा सिफारिस गरिए पनि त्यो कार्यान्वयनमै आएन । साउदी अरबको राजदूतमा सिफारिस गरेर त्यसै थनक्याइएका इन्जिनियर अलि अख्तर मिक्रानीको त निधन भैसकेको छ ।”
नियुक्तिहरूमा दोहोरो मापदण्ड बनाएर ओलीले इतर खेमालाई वरपर पर्न नदिएकै कारण नेकपादेखि एमालेसम्मको अन्तरकलह चर्किएकाे चर्चिएकाे बताउने गरिएको छ । जस्तो विभिन्न देशमा राजदूत सिफारिस भएकाहरुले ओलीको कार्यकालभर नियुक्ति नै पाएनन् । जापानका लागि प्रोफेसर खड्ग केसीलाई राजदूतमा सिफारिस गरिए पनि त्यो कार्यान्वयनमै आएन । साउदी अरबको राजदूतमा सिफारिस गरेर त्यसै थनक्याइएका इन्जिनियर अलि अख्तर मिक्रानीको त निधन भैसकेको छ । रौतहटको ठूला जमिन्दारसमेत रहेका मिक्रानी वरिष्ठ नेता माधव नेपालको क्लासमेट भएकै कारण उहाँमाथि पूर्वाग्रह राखिएको एमालेभित्रै गुनासो सुनिएको छ ।
श्रीलंकाका लागि राजदूत बनाउन ठिक्क पारेर पाँचथरका यादव खनाललाई पनि त्यसै झुलाइयो । लामो समय परराष्ट्र सेवामा बिताएका खनाल भारतसंगको इपिजी प्रतिवेदन तयार गर्ने कार्यदलमा समेत रहेर काम गरेका अनुभवी मान्छे हुन् । दक्षिण कोरियामा दूतावास खोल्न जाने मध्येका एकसमेत भएकाले खनाल राजदूत बन्ने अधिकांशको अपेक्षा थियो ।
परराष्ट्र सेवामा काविल मानिएका यादव खनाल,प्रोफेसर खड्ग केसी जस्तालाई अयोग्य ठानेको सरकारले जापानका लागि नेपाली राजदूत प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू,राप्रपा नेतृ प्रतिभा राणाको कार्यकाल सकिएर पनि ६ महिना थप गर्यो । ओमानमा शर्मिला ढकाललाई अब्बल ठानियो ।
‘परराष्ट्र क्षेत्रमा अब्बल हुँदाहुँदै पनि कसैको लोयल्टी जाँच्ने, कसैको इमान्दारितामा प्रश्न उठाउने अनि कसैले एस म्यान बन्न नसक्ने संकेत दिएकै आधारमा उनीहरुलाई सिफारिस गरेर पनि नियुक्त नगरिएको हो’, जानकार स्रोत भन्छ ।
ओली सरकारले आफ्नालाई राजदूत बनाउन सिफारिससम्बन्धी कार्यविधि नै संशोधन गरेको थियो । विदेशमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतजस्तो सम्मानित पदमा नियुक्त हुन शैक्षिक योग्यता कम्तिमा स्नातक हुनैपर्ने व्यवस्थालाई संशोधन गरेर मन्त्री बनिसकेका व्यक्तिलाई शैक्षिक योग्यताको जरुरत नपर्ने बनाइयो । युवराज कार्कीलाई बहराइनको लागि राजदूतमा प्रस्ताव गर्नका लागि कार्यविधि संशोधन गरिएकोमा पछि सर्वोच्चको आदेशले सिफारिस उल्टिएको थियो ।
कतै नामै नसुनिएकी सुमित्रा सुवेदीलाई डेनमार्कका लागि राजदूत प्रस्ताव गरेपछि परराष्ट्रका कर्मचारी नै अचम्ममा परे । ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार रहेका राजन भट्टराईकी सासू भएकै कारण उनलाई राजदूत बनाउन लागिएको चर्चा उतिबेलै ब्यापक थियो । प्रधानमन्त्री ओलीका अर्का स्वकीय सचिव इन्द्र भण्डारीकी काकी र सरकारकै मुखपत्र गोर्खापत्रका सल्लाहकार सम्पादक गोपाल खनालकी पनि आफ्नै सासू रहेकी सुवेदी अहिले पनि डेनमार्कको महामहिममा प्रस्तावित छिन् ।
एमालेको अहिलेको अन्तरविरोधको मूल जरो नै ओलीको एकाधिकारवादी कार्यशैली भएकाले आन्तरिक एकता गर्ने प्रयासले मूर्तता पाउन नसकेको नेताहरु बताउँछन् । कार्यदलले प्रस्ताव गरेको एकताको १० बुँदे प्रस्तावप्रति सकारात्मक भनिएका नेताहरु समेत ओलीको विगतको कार्यशैलीका कारण एकताप्रति आश्वस्त हुन नसकेको बताइन्छ ।
टिप्पणीहरू