२ सय ११ जना नेपाली सैनिकलाई अफ्रिका लगियो
सेन्ट्रल अफ्रिकन गणतन्त्र (मिनुस्का) र माली (मिनुस्मा) मा नेपाली शान्ति सैनिकहरुको अदली बदली शुरु भएको छ । जङ्गी अड्डाका अनुसार शान्ति अफ्रिकामा रहेका सैनिकहरुको हेरफेर थालिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मिनुस्का मिसनमा तैनाथ सैनिक प्रहरी युनिट (शान्तिसेना ) छैठौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा सैनिक प्रहरी युनिट सातौं डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक त्यसतर्फ गएका हुन् ।
त्यसैगरी मिनुस्मा मिसन मालीमा तैनाथ ई.ओ.डि. गुल्म (शा.से.) सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगीत पुनको कमाण्डमा ई.ओ.डि. गुल्म (शा.से.) आठौं डफ्फाका १ सय ३९ जना नेपाली शान्ति सैनिक पनि हिजो त्यसतर्फ गएका छन् ।
उता दुबै मिसनबाट आफ्नो कार्यकाल पूरा गरेपछि नेपाली शान्ति सैनिकहरुको टोली भोलि आइतबार नेपाल आइपुग्दैछ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप गरिएको अदली बदलीको क्रममा पनि सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ प्रोटोकोलहरूको पालना गरिएको समेत जङ्गी अड्डाले जनाएको छ ।
टिप्पणीहरू