मान्छे मार्न पाइने, पोस्टर टाँस्न नपाइने ?
- नारायण नेपाल
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी पनि निर्वाचन गराउने भन्दै छन् । नयाँ शक्तिको नाममा राजनीतिको अलग यात्रा गर्ने उद्देश्य थालेका बाबुराम चुनाव चिह्न नदिए प्रचण्डलाई देखाइदिने भन्दै छन् । मोहन वैद्यबालाई संविधान च्यात्ने र जलाउने अनि चुनाव उपयोग भन्दै फुर्सद छैन ।
विप्लवको पार्टी निर्वाचन खारेजीको माग गर्दै अभियान सञ्चालन गर्दै छ । हिजो एउटै लक्ष्य र उद्देश्यले जनयुद्ध हाँकेका नेताको बुझाइ र सोचाइमा यति धेरै अन्तर किन ? हिजो के थियो साझा समझदारी, कहाँ थियो फरक सोच, कसरी कसियो लगनगाँठो, आज केले फाट्यो, हिजो कसले किन लुकायो र आज कसले फुकायो विस्तारै रहस्य खुल्दै जाला तर माओवादी आन्दोलनका नेता–कार्यकर्ता र देश आज यही एजेण्डाभित्र रुमल्लिँदै छ ।
प्रचण्ड सरकार चुनावी मैदानमा आउने, वैद्य–बाबुरामलाई चिह्नसमेत नदिएर विपलवका कार्यकर्तालाई पोस्टर टाँस्दासमेत पक्राउ गर्छ, जागरण सभामा प्रहरी हस्तक्षेप गराउँछ । शान्तिपूर्ण कार्यक्रम बिथोल्छ । उदेकलाग्दो कुरा– यो कस्तो लोकतन्त्र हो सरकारले मान्छे मार्न पाइने, हामीले पोस्टर टाँस्न नपाइने ?
रोगी संविधान ०७२ले देशमा द्वन्द्व र अराजकताको मात्रालाई थप ऊर्जावान बनाएको छ । मधेस आन्दोलनका नाममा सयौं निरीह जनताको रगत पिएको छ । सरकारले जनता मारेर आवाज रोक्ने दुस्साहस गरिरहेको छ । सरकार दलका ठेकेदार जनता उफारेर विदेशीका चाकडी गर्नेहरूको स्कर्टिङ गर्छ र निरीह जनतालाई गोली बर्साउँदै छ । र, लोकतन्त्रको दुहाइ दिँदै छन् । नेपालको शान्ति र संविधान निर्माणको प्रक्रियामा विमति र विवाद व्यापक रूपमा चलिरहेको छ । पहिलो जननिर्वाचित संविधानसभा विघटनपछि यसको विवाद र बहस थप सतहमा आउँदै जनताको तहमा मतान्तर देखा पर्न थाल्यो । दोस्रो संविधानसभा बहिष्कार र त्यसयताका असहमतिलाई विस्तारै सत्ता र शक्तिको आडमा दबाउने रबैया सरकारले अपनाउँदै आएको देखिन्छ ।
बल र छलको आधारमा टिकट लिने–दिने दल, लखपति र करोडपति छानीछानी टिकट बेच्नेलाई जिताएर कस्तो समाज बन्ला ? नोटमा भोट किन्ने लोकतन्त्र हो कि लुटतन्त्र ? करोडौं खर्च गरेर मेयर बन्नेले कति करोड घोटाला गर्न ¥याल काढेका होलान् ? निःशस्त्र जनतालाई बन्दुक देखाएर भोट हाल्न उर्दी लगाउने सरकारको फासीवादी चरित्रलाई कसरी लोकतन्त्र भन्ने ?कात्तिकको जोगीझैं दल चहार्दै हिँड्नेहरूले नै टिकट पाउने देखिन्छ । रैथानेहरू अयोग्य ठहरिने र ल्याइतेको हालीमुहाली चल्ने, सक्षम र इमानदार मान्छेले टिकट नपाउने । धन, गन र डनको तन्त्र चलेको राजनीतिमा पाए पनि जित्ने के ग्यारेन्टी ? उहिले बिपी बाबुले देख्दादेख्दै पहिलो संसद्ले हावा खायो र पञ्चायत उदायो दोस्रो संसद्लाई त शेरबहादुरले अस्ति भर्खरै पनि नसकेर ज्ञानेन्द्र महाराजलाई बुझाएकै हुन्, अब पनि नबुझाउलान् भन्ने के ठेगान ? कालो लोकतन्त्रभन्दा रातो प्रजातन्त्र कसरी स्थापना होला ? सोच्न थाल्ने बेला भइसकेको छ ।
आज–भोलि देशमा लोकतन्त्र आएको व्यापक हो–हल्ला छ । आफूलाई प्रजातन्त्रको प्रवक्ता ठान्ने अमेरिकाले समेत आफ्नो विरोधी नोम चोम्स्कीलाई खर्च दिएर पाल्छ, कथित लोकतन्त्रवादी सरकार चुनावविरोधी सभालाई समेत बल प्रयोग गरेर बिथोल्छ, किन, कसले उक्साउँदै छ यिनीहरूलाई, विरोध र बहिष्कारको अधिकार हुन्छ नि !
टिप्पणीहरू