जनताले जान्न चाहेका जिज्ञासा
यो चुनावले संविधानसम्बन्धी जुन विवाद उठेको, उठाइएको थियो त्यसलाई एक हदसम्म अन्त्य गरेको छ । यो संविधान कार्यान्वयनको प्रक्रियामा गएकोले यसको स्वीकार्यता बढाएको छ । यो चुनाव नयाँ संविधानअन्तर्गत भएको एउटा महत्वपूर्ण काम हो । जनताले आफ्नो जनप्रतिनिधि चुनेर यसलाई आत्मसात गरेका छन् । नाकाबन्दी र संविधानसम्बन्धी विवादले मुलुकमा लामो समयसम्म सबै कुरा ठप्प थियो ।
तर अब एउटा प्रक्रिया र प्रणाली निर्धारित बाटोमा हिँड्ने भएको छ । हामीसँग निर्वाचित जनप्रतिनिधि भनेको एउटा संविधानसभा मात्र थियो त्यो पनि रुपान्तरित अवस्थामा तर अब जनताको सिधा सरोकार जोडिने अर्को समानान्तर सत्ता जन्मिएको छ जसलाई केन्द्र सरकारले हल्लाउन सक्दैन । बरु प्रधानमन्त्रीले चाहेको खण्डमा संसद बिघटन हुनसक्छ तर स्थानीय तहलाई कुनै सरकारले छुनै सक्दैन ।
यो चुनावलाई नयाँ पुस्ताले २० वर्षपछि नै आएको भए पनि संविधानको नाममा गरिएको अनर्गल विवादलाई छिचोल्दै स्वीकार गरेको अवस्था छ । अहिले लगभग ७५ प्रतिशत मत खसेको छ । बृद्धबृद्धाको जनसंख्या घटेको छ । ११ प्रतिशत युवा विदेशमा छन् । यसका बाबजुद यति धेरै मत खस्नु भनेको युवाहरूले पनि संविधानलाई निसंकोच स्वीकार गर्नु हो । रञ्जु दर्शना र किशोर थापाहरू ३४ जिल्लामध्ये काठमाडौंमा मात्रै देखिएका हुन् । सामाजिक सञ्जाल र तरल भोटको जगमा उनीहरू उठेको प्रष्ट छ । सुर्खेतमा विवेकशीलले अर्की रञ्जु उभ्याउन सकेन र पोखरामा अर्का किशोर थापा देखाउन सकेनन् रविन्द्र मिश्रहरुले । भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाल उमेरको हिसावले नयाँ होलिन् तर उनी आफ्नो पार्टीको ब्याकिङमा भिडेकी हुन् । रामजी कुँवर पनि पोखरामा टुप्पाबाट पलाएका होइनन् । काँग्रेस पार्टीका प्रतिनिधि हुन् ।
आखिर पुरानै बलिया उम्मेदवार दिएका छन् । जस्तोः झापाबाट पञ्चायतकालमा द्रोणाचार्य क्षेत्री, चितवनबाट जागृतप्रसाद भेटवाल, विराटनगरबाट उमेशजंग थापा, इलामबाट नोवलकेमी राई, कास्कीबाट सोमनाथ प्यासी, काठमाडौंबाट नानीमैयाँ दाहाल, गोल्छे सार्की, पद्मरत्न तुलाधर । एकदलीय पञ्चायतविरुद्ध दलहरूले प्रतिकात्मक रुपमा यसरी विद्रोही उम्मेदवार खडा गर्थे । त्यसबेला राज्यले आफ्नो मान्छे उठाउँथ्यो । अहिले कोही उम्मेदवार राज्यको तर्फबाट भिडिरहेको छैन । पोखरामा काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ यिनै दलहरूको प्रयत्नका कारण । पोखराको सडकमा यति धेरै सडक बत्ति छन्, ती यिनै दलहरूले बालेका हुन् । भैरहवामा क्षेत्रीय विमानस्थल बन्दैछ, त्यो कुनै किशोर थापा र रञ्जु दर्शनाले बनाउन लगाएका होइनन् । लोडसेडिङ हटाउने काम पनि यिनै पुराना दलहरूले गरेको हो ।
एक जमानामा हाई हाई भएका गगन थापा, रविन्द्र अधिकारी, योगेश भट्टराई पनि ठूला दलकै प्रतिनिधि हुन् । यसपटक के देखियो भने भूपू प्रधानमन्त्री भइसकेका, जनयुद्धताका माओवादी पार्टीका विचारक मानिने बाबुराम भट्टराईले आफ्नो चुनाव चिन्ह नपाएर अर्काको चिन्हमा भोट माग्नुप¥यो । त्यति गर्दा पनि लाजमर्दो उपस्थिति देखियो, चुनावी परिणाममा । ०६४ सालमा २४० प्रत्यक्षमध्ये पचास प्रतिशत अर्थात् १२० सिट जितेको माओवादीको पनि बेहाल भयो । काँग्रेस–माओवादीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको, आईजीपीको लफडा निकालेको असन्तुष्टिस्वरुप रञ्जु दर्शनाहरूले अत्यधिक बहुमतका साथ राजधानीको चुनाव जित्नुपर्ने होइन र ? तर पुरानै पार्टीलाई जनताले सब कुरा माफ दिएर अनुमोदन गरेको देखिँदैछ । एउटा सानो उदाहरण, इष्ट कन्सल्ट र न्यू एराजस्ता पुरानो कन्सल्टेन्सी चलाउने प्रकाश जोशी जो कुनै जमानामा काँग्रेसलाई अति धेरै आर्थिक सहयोग गर्नेहरूमा गनिन्थे, ले सुशीला कार्की प्रकरणमा फेसबुक पेजमा लेखे– कुनै हालतमा अब काँग्रेसलाई भोट दिइँदैन । तर केही फरक परेन पुराना मान्छेहरूले यसरी आक्रोश व्यक्त गरे पनि ।
०६२/०६३ को आन्दोलनताका बेलायत बसेर राजाको समर्थन र दलहरूलाई जति सरापे पनि अहिले रविन्द्र मिश्रका चिप्ला कुराले मुलुकको कायापलट ग¥यो ? वा केपी ओलीलाई तथाकथित राष्ट्रवादी भनेर जति गाली गरे पनि, उनले लिएको अडानको कारण भारतले रिसाएर नाकाबन्दी गर्दै साम, दाम, दण्ड, भेद प्रयोग गरे पनि के एमाले किचिमिची भयो ? स्थानीय तह चुनावमा पहिलो पार्टी बन्नबाट रोकियो एमाले ? मतगणनाको परिणाम आउँदै गर्दा के संकेत मिलेको छ भने अब दोधारेभन्दा प्रष्ट कुरा गर्नेहरू, नेतृत्वमा दृढता देखाउनेहरू, सम्झौताभन्दा वारपारको आन्दोलन गर्नेहरूलाई जनताले रुचाएका रहेछन् ।
अप्राकृतिक गठबन्धन अपाच्य भएको पनि पाइयो । किनभने दस्तावेजमा काँग्रेसलाई प्रमुख दुश्मन र राप्रपालाई पुनरुत्थानवादी किटान गर्ने एमाले र माओवादीले त्यो लाइन आधिकारिक रुपमा परिवर्तन नगर्दै काँग्रेस, राप्रपासँग गठबन्धन कायम गरेका छन्, तर त्यो तालमेल कहीं कार्यान्वयन भयो त ? अर्को कुरा, के पनि प्रष्ट भयो भने माथिबाट थोपरिएका लाइक माइण्डेडभन्दा तलैबाट चुनिएका उम्मेदवारहरूले जनताको मन जित्ने रहेछन् ।
टिप्पणीहरू