मुख्यमन्त्री सरकारी निवासमा छिर्न नपाउँदै
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदको शपथ ग्रहण गरे पनि सरकारी निवासमा छिर्न पाउनुभएको छैन । निवर्तमान मुख्यमन्त्री शेरधन राईले निवास नछाडेका कारण आचार्य अन्यत्र बस्दै आउनुभएको हो ।
मुख्यमन्त्री आचार्य गत आइतबारदेखि बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको गेष्ट हाउसमा बस्दै आउनुभएको छ । ‘उहाँलाई बैंकको अतिथिगृहको माथिल्लो तल्लामा रहेको भीभीआईपी रुम र सँगैका दुई वटा अन्य कोठा र बैठक हल उपलब्ध गराइएको छ,’ बैंकका एक जना अधिकृतले जानकारी दिएका छन् ।
उहाँको बिहान बेलुकीको खानपिन बैंक हातामा रहेको क्याण्टिनबाट मगाएर गेष्ट हाउसमा खाने गर्नुभएको छ । गेष्ट हाउसको माथिल्लो तलामा रहेको भीआईपी कोठामा भने निजी सचिव बसेका छन् । निजी सचिव चाँही आचार्यका छाेरा हुन् । उक्त तलाकाे ठूलो कोठामा सुरक्षाकर्मी र अन्य कर्मचारीलाई राखिएको छ ।
कोठा अभाव भएको जनाउँदै हिजो बैंकको विराटनगर कार्यालयको प्रशासनसँग मुख्यमन्त्री कार्यालयले गेष्ट हाउसको तल्लो तलाको तीन वटा कोठासमेत उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ । तर, बैंकले एकाध दिनको लागि बाहेक लामो समयसम्म गेष्ट हाउस उपलब्ध गराउन नमिल्ने आशयको जवाफ दिएपछि मुख्यमन्त्री आचार्य अप्ठेरोमा परेको बताइन्छ ।
मुख्यमन्त्री नियुक्त भएको दिनदेखि गत शनिबारसम्म उहाँ आफ्नै निजी निवास सुनसरीबाट आउजाउ गर्नुभएकाे हाे ।
बिराटनगरको कञ्चनबारीस्थित मुख्यमन्त्रीको सरकारी निवासमा निवर्तमान मुख्यमन्त्री राईको दम्पत्ति बस्दै आएको छ । गत माघमा बिबाह गरेको राई परिवारको सरसामान तत्काल सार्न अप्ठेरो परेकाले निवास खाली गर्न केही दिन ढिलो भएको स्रोतले बताएको छ ।
टिप्पणीहरू