चेपाङको पर्वमा कतै बिदा,कतै खुला

चेपाङको पर्वमा कतै बिदा,कतै खुला

चेपाङ जातिको उद्गम क्षेत्रको रुपमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले भोलि भदौ २२ गतेका लागि बिदा घोषणा गरेको छ ।

त्यसैगरी पश्चिम मकवानपुरमै चेपाङ बाहुल्यता रहेको अर्काे कैलाश गाउँपालिकाले पनि बिदा दिने भनेको छ । यता गत बर्षहरु झैँ यसपटक पनि मनहरी गाउँपालिकाले न्वागी पर्वका बेला बिदा दिने आशा गरिएकामा यस बर्ष बिदा घोषणा हुन सकेन ।कार्यपालिका बैठक बस्न नसकेकाले बिदा दिन नसकिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । राक्सिराङ र कैलाश गाउँपालिकाले भने विज्ञप्ती प्रकाशन गरी न्वागी पर्वका अवसरमा बिदा दिइएको जनाएका छन् ।

मकवानपुरमा २०६८ को जनगणनाअनुसार ३५ हजारभन्दा बढी जनसंख्या देखिएपनि उक्त संख्या १ लाख बढी रहेको नेपाल चेपाङ संघका पदाधिकारीहरु बताउँछन् ।के हो न्वागी पर्व

न्वागी पर्व चेपाङ समुदायको महत्वपूर्ण चाड हो । यो प्रकृति र पितृ पूजा गरी नयाँ अन्न चढाएर मात्रै आफूले खान थाल्ने पर्वको रुपमा चेपाङ जातिमा रहेको छ ।

चेपाङ झाँक्री (पाण्दे) हरुले रातभरि ढ्याङ्ग्रो ठोकेर विधिपूर्वक पितृलाई बोलाउने र कुखुरा,नयाँ अन्नबाली,फलफूल, फूलपाती चढाएर यो पूजा सम्पन्न हुने गर्दछ । यो चाडमा एकापसमा आफन्त बोलाउने,खुवाई पियाई गराउने प्रचलन छ ।

हाल अधिकाँश चेपाङ समुदायमा क्रिश्चियन धर्मावलम्बीहरु बढेसँगै न्वागीको विधिवत महत्व घटेको छ भने पश्चिमा सांस्कृतिक कार्यक्रमहरुले स्थान पाउन थालेका छन् ।

यसैबीच नेपाल चेपाङ राक्सिराङ गाउँ कार्यकारिणी समितिले चैनपुरमा भदौ २२ गते औपचारिक रुपमा सांस्कृतिक कार्यक्रमका साथ न्वागी मनाउने तयारी गरेको संघका राक्सिराङ सचिव प्रशान्त चेपाङले बताउनुभयो ।

टिप्पणीहरू