चेपाङ झाँक्री भन्छन्–राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको भूत समेत भगाइदिन्छु
मकवानपुरसहित गोरखा,धादिङ, चितवन,तनहुँ र लमजुङमा बसोबास गर्ने झण्डै एक लाख हाराहारीका चेपाङ समुदायले भदौ २२ गते छोनाम पर्व (न्वागी) मनाएका छन् ।
मकवानपुरमा पनि राक्सिराङ गाउँपालिका ५ चैनपुरस्थित पालिका सदरमुकाममा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा न्वागी समारोह आयोजना गरिएको छ । प्रदेशस्तरीय कार्यक्रम भनिएपनि सो कार्यक्रममको ब्यापकताबारे चौतर्फी प्रश्न उठेको छ ।
यता विभिन्न चेपाङ झाँक्री (पाण्दे) हरुले व्यक्तिगत रुपमै भदौ २१ गते रातिदेखि हिजो बिहानसम्म एकपाखे ढ्यांग्रो फलाकेर छोनाम पर्व मनाएका छन् । रातभरि फलाकेका पाण्देहरुले भदौ २२ गते बारना खुलाउँदै (नयाँ अन्न खान मिल्ने) छोनाम पर्व समापन गरेका छन् ।
मकवानपुरको सबैभन्दा बढी चेपाङ जनघनत्व भएको राक्सिराङ गाउँपालिकामा भब्य छोनाम समारोह चलिरहँदा तत्कालीन राक्सिराङ गाउँपालिका ५ मै पर्ने र हाल सीमाना मिलाउँदा मनहरी गाउँपालिका ७ मा पर्ने प्याङ्चेमा ५३ बर्षीय पान्दे मानबहादुर चेपाङले घरमै न्वागी पूजा गरेका छन् ।
विधि पुर्याएर आफ्नै घरमा फूलपाती,नयाँ उत्पादन भएको घैया, पिँडालुसहितका अनाजहरु जुटाएर गरिएको पूजामा रातभरि मौलिकतामा आधारित सांस्कृतिक कार्यक्रम पनि चल्यो । ‘हामीले अहिलेकोजस्तो भीडभाड र तडकभडकयुक्त न्वागी मनाएका होइनौँ’,चेपाङ पाण्दे मानबहादुरले भन्नुभयो–‘संस्कार, संस्कृति र परम्परा जोगाउने मौलिक र सक्कली न्वागी पूजा विधि पुर्याएर गरेको छु ।’
जनआस्थासँग प्रतिक्रिया दिँदै मानबहादुरले आफू १७ बर्षको उमेरबाटै झाँक्री विद्यातिर लागेको बताउनुभयो । उहाँले अहिलेसम्म थुप्रै बिरामीहरु निको पारेको र निको नहुने बिरामीहरुलाई डाक्टरकोमा सिफारिस गर्ने गरेको बताउनुभयो । ‘डाक्टरले पनि रोग पत्ता लगाउन नसकेका बिरामीहरुलाई म निको पार्छु,मैले निको पार्न नसकेका बिरामीहरु डाक्टरले निको पार्छन् ।’, मानबहादुरले भन्नुभयो ।
उहाँ सानै उमेरमा स्वर्गदूतले झाँक्री विद्या सपनामा आएर दिएकाले जुनसुकै बिरामी पनि निको पार्न सक्ने दाबी गर्नुहुन्छ । ‘भूतप्रेतका समस्या म ठाउँको ठाउँ निको पार्छु,चाहे त्यो राष्ट्रपति कार्यालयमा होस्,चाहे प्रधानमन्त्री कार्यालयकै भूतप्रेत किन नहोस् ।’
दुई बर्षदेखि डाक्टरले निको पार्न नसकेका बिरामीलाई आफूले निको पारेको,तीन महिनादेखि बेहोस भएर लडिरहेका बिरामीलाई निको पारेको उदाहारण दिँदै चेपाङ झाँक्री मानबहादुरले भन्नुभयो–‘प्रकृति पूजा गरेर आराधना गर्ने पाण्देहरुलाई स्वाभाविक रुपमा स्वर्गदूतले शक्ति प्रदान गर्ने गर्दछ ।
धर्म परिवर्तनका कारण अहिले न्वागी पर्व लोप हुन लागेपनि फरक धर्म मान्नेहरुले पनि फरक तरिकाले न्वागीको प्रवर्धन गरिरहेकामा भने उहाँले खुशी व्यक्त गर्नुभयो । चेपाङ समुदायका मानिसहरु अहिले अधिकाँश क्रिश्चियन धर्म मान्न थालेका छन् ।
टिप्पणीहरू