मानवअधिकार आयोगले भन्यो ‘सरकारको विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रता विपरीत’

मानवअधिकार आयोगले भन्यो ‘सरकारको विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रता विपरीत’

राष्ट्रिय मानवअधिकार आयोगले दार्चुलामा जयसिंह धामी बेपत्ता भएको घटना तथा एमसीसीलगायतका विषयलाई लिएर भइरहेको आन्दोलनलाई लक्षित गरी सरकारले हालै प्रकाशित गरेका विज्ञप्तिबाट नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन पुगेको ठहर गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गर्दै, ‘नेपालको संविधान, मानवअधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्षराष्ट्र भएको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेकाले नागरिकको शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुन पाउने अधिकार रहेको,’ जनाएको हो ।आयोगले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रता रहेको औंल्याउँदै संविधान तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

उसले भनेको छ, ‘यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा रोक लगाउने गरी कुनै पनि सूचना,विज्ञप्ति तथा गतिविधि नगर्न नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

प्रदर्शनकारीहरुलाई पनि आयोगले आफ्नो विमति राख्दा मुलुक र अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषयमा सम्वेदनशील हुन र बिरोध प्रदर्शनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ ।

टिप्पणीहरू