अफगान कक्षा कोठामा महिला र पुरुषवीच फेरि बिभेद
तालिवानले झण्डै २० वर्षपछि दोस्रो पटक अफगानिस्तानको सत्ता हातमा लिएको छ । पहिलेको गल्तीलाई सुधार्ने बताउँदै आएको तालिवानले छ दिनअघि मात्रै अन्तरिम सरकार घोषणा गरेको छ ।
उसले पटक पटक अफगान महिलाले इस्लामिक कानुनबमोजिम अधिकार पाउने बताउँदै आएको छ । त्यसपछि छात्राहरू समेत विद्यालय जान थालेका थिए । अहिले आएर तालिवान सरकारले छात्र र छात्रालाई सँगै एउटै कक्षा कोठामा बसेर पढ्न नपाउने भन्दै कित्ताकाट गरिदिएको छ ।
यसअघि कक्षा कोठाको बीच भागमा पर्दा राखेर छात्र र छात्रालाई छुट्याइएको थियो । कतिपय विद्यालय र विश्वविद्यालयमा उनीहरूलाई छुट्टाछुट्टै कक्षा कोठामा राखेर समेत अध्यापन गराइएको थियो । हेरात शहरको एउटा विश्वविद्यालयमा प्रोफेसरले कक्षामा छात्रलाई आधा घण्टा र अर्को कोठामा छात्रालाई आधा घण्टा पढाउने गरेको बताएका थिए ।
तालिवान सरकारका उच्चशिक्षासम्बन्धी मन्त्री अब्दुल बाकी हक्कानीले पत्रकारहरूसँग कुरा गर्दै सह–शिक्षा योजना इस्लामिक सिध्दान्त र राष्ट्रिय मूल्यहरूको विरुध्द रहेकाले छात्र र छात्रा सँगै बसेर विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्न नपाउने भनेका छन् ।
हक्कानीले अफगान छात्राले विद्यालय वा विश्वविद्यालय जाँदासमेत इस्लामिक पोशाक लगाउनु अनिवार्य रहेको समेत जनाएका छन् । तालिवानले अन्तरिम सरकार घोषणा गरेपछि अघिल्लो हप्ताको शुरूदेखि धेरैजसो विद्यालय र विश्वविद्यालयहरू खुलेका छन् ।
तालिवानले आफ्नो पहिलो कार्यकालको सन् १९९६ देखि सन् २००१ को ५ वर्ष अफगानिस्तानका विद्यालय र विश्वविद्यालयमा छात्रालाई पूर्ण प्रतिबन्ध लगाएको थियो ।
टिप्पणीहरू