पोष्ट बहादुर बोगटीको साताैं स्मृतिमा छात्रवृत्ति र पत्रकारिता पुरस्कारको घोषणा
स्वर्गीय पोष्टबहादुर बोगटीको सम्झनामा सात वटै प्रदेश र नुवाकोट जिल्लामा पोष्टबहादुर बोगटी स्मृति शैक्षिक छात्रवृत्ति कोष मार्फत स्नातक तहमा अध्ययनरत एक छात्र र एक छात्रा गरी दुई जनालाई मासिक २ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइने भएको छ ।
पूर्व पर्यटन, नागरिक उड्ययन तथा संस्कृति मन्त्री समेत रहनु भएको स्वर्गीय माओवादी नेताको सम्झनामा हरेक वर्ष नगद २५ हजार रुपैयाको पोष्टबहादुर बोगटी स्मृति पर्यटन पत्रकारिता पुरस्कार समेत प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली समाजमा आफ्नो स्वअध्ययनबाट धेरैका लागि प्रेरणा बाँड्न सफल बोगटीको सम्मानमा नुवाकोटको पिपलटारमा पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय स्थापना गर्ने निर्णय समेत भएको छ ।
उहाँको साताैं स्मृति दिवसको उपलक्ष्यमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले उक्त निर्णय गरेको हो । माओवादी आन्दोलनमा नेता बोगटी विचारलाई जीवन व्यवहारमा लागु गर्ने नेताको रुपमा चिनिनुहुन्छ ।
वि.सं. २०१० साल साउन ३ गते साबिक नुवाकोट जिल्लाको तुप्चे गाविस २ मा जन्मनु भएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भाद्र ३० गते निधन भएको थियो । उहाँ निधनअघि एकीकृत नेकपा माओवादीको उपाध्यक्ष हुनुहुन्थ्यो ।
२०६४ सालको संविधानसभा निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भई माओवादी संसदीय दलको सचेतक, प्रमुख सचेतक हुँदै, क्रमशः उर्जा, शिक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुनुभएको थियो ।
टिप्पणीहरू