​सुन्दरीले कराउँदा सबैतिर सन्नाटा

 कस्तो खुराफाती दिमाग ! एउटै व्यक्तिले दुई÷तीन महिनाको फरकमा सौन्दर्य प्रतियोगिता गराउने । र, आफू निकटसँग मोटो रकम लिएर ताज पहि¥याई जग हँसाउने । देशका नागरिक बाढी–पहिरोका कारण भयावह अवस्थामा गुज्रँदै गर्दा झरना थापालगायत नायिका मिसेज तिज आइकनको खोजी गर्दै थिए । 

निश्चल जोशीलगायत केही पैसावाललाई लाइनमा लाउन सक्रिय थिए, कोरियोग्राफर अभिमन्यु शर्मा । उनले टनेल ग्रुपका निश्चल जोशीलाई अगाडि लगाएर शर्मिला सुब्बा बस्नेत, किरण ठकुरी कल्पना श्रेष्ठ, ममता बस्नेतलगायत सात जनालाई आयोजक बनाए । 

फागुनमा मिस क्विन,वैशाखमा लिटिल मिस प्रिन्स एण्ड प्रिन्सेज आयोजना गरेका अभिमन्युको इभेन्ट वेटर ग्यालेक्सीले अस्ति होटल ¥याडिसनमा मिसेस तिज आइकन २०१७ आयोजना ग¥यो । ४० वर्षभन्दा कम उमेरका विवाहित महिलामाझ सम्पन्न प्रतियोगिताको निर्णायक थिए, नायिका झरना थापा, इभेन्ट वेटर ग्यालेक्सीका सञ्चालक धीरज तण्डुकार, नारी पत्रिकाकी लक्ष्मी भण्डारी, साप्ताहिकका कृष्ण भट्टराई, फिमेल हाउसकी सुष्मा महरा, ममता बस्नेत, अनुप पहाडी, संगीता रौनियारलगायत । 

गर्लफ्रेन्ड लिजा श्रेष्ठलाई पहिलो बनाइदिए । यो देखेपछि सौन्दर्य प्रतियोगितालाई केही व्यक्तिले कसरी कमाइ खाने भाँडो बनाएका रहेछन् भन्ने प्रस्ट भएको छ । यिनै निर्णायकमध्ये एक अनुप पहाडीकी बहिनी वन्दनालाई दोस्रो बनाइएको छ । 

पहिला आयोजकले प्रतियोगीबाट मोटो रकम लियो । प्रतिस्पर्धीसँग विभिन्न बहानामा उनीहरूले नै भनेको बुटिक सिम्ली सिटीमा कपडा सिलायो, हेमा मानन्धरले सञ्चालन गरेको बुटिकमा फोटो सुट गरायो । ड्रेस सुट, फोटो सुट र अन्य बहानामा आयोजकले प्रतिस्पर्धीसँग झण्डै एक÷एक लाख असुले । आयोजकले फाइनल राउण्डका लागि प्रतिस्पर्धीलाई टिकट बेच्न लगायो । हजार र तीन हजार दरका टिकट थमाइएको थियो । र, आश्वासन दिइयो, जसले बढी टिकट बेच्छ उसलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिने । प्रतिस्पर्धीलाई भनियो, ‘प्रतिव्यक्ति २० वटा टिकट अनिवार्य बेच्नुपर्छ ।’ 

यस्तै, कारण अस्ति त्यहाँ भाँडभैलो भयो । होटल ¥याडमा आयोजकले जब गर्लफ्रेण्ड र निर्णायककी बहिनीलाई ताज पहि¥याए । प्रतिस्पर्धी सोनम शाक्यले पैसा र सम्बन्धका आधारमा ताज पहि¥याइएको प्रति आक्रोश पोखिन् । उनले आयोजकको दादागिरीबारे धाराप्रवाह बोलिरहँदा हलमा ताली गुञ्जियो । गायिका कोमल ओलीले ‘भएकै कुरा हो’ भन्दै सही थपिन् ।

त्यहीबेला आयोजक अभिमन्युले स्विच अफ गरिदिए र बोल्न दिएनन् । पछिल्लो समय भइरहेका यस्ता प्रतियोगिता प्रतिभाको खोजी गर्ने माध्यम नभएर कमाइ खाने भाँडो बन्ने गरेको यो गतिलो प्रमाण हो । न जिल्ला प्रशासन कार्यालयमा दर्ता छ न त कम्पनी रजिस्ट्रार कार्यालयमै । यद्यपि, यिनै अभिमन्युहरू अबको केही महिनापछि मिसेज इन्टरनेसनल आयोजना गर्दै छन् । सौन्दर्यको नाममा यस्तो बद्मासी भइरहँदा रोक्ने कसले ?

टिप्पणीहरू