ललिता निवास जग्गा प्रकरणमा गच्छदारको दाबी:मलाई फसाइयो
बालुवाटार ललिता निवास परिसरको जग्गा प्रकरणमा बिशेष अदालतमा मुद्दा विचाराधीन रहेका काँग्रेस उपसभापति विजयकुमार गच्छदारले आफू अन्यायमा परेको दाबी गरेका छन् ।
विना पूर्वजानकारी अत्यन्तै छोटो सूचनावीच आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार उक्त जग्गाको प्रस्तावलाई मन्त्रिपरिषदमा लैजाने काम मात्र आफूले गरेको बताएका छन् ।
बि.सं. २०४७ पछि सबैभन्दा धेरै पटक मन्त्री हुने अवसर पाएका उनले पटक पटक पूर्वप्रधानमन्त्री नेपालको नाम लिँदै आफूमाथि अन्याय भएको दाबी गरेका हुन् । उनले भनेका छन्, ‘जसको निर्देशनमा प्रस्ताव अघि बढ्यो ऊ निर्दोष हुने तर निर्देशन पालना गर्नेले दोषको भागिदार बन्नु पर्ने यो कस्तो न्याय हो ?’
गच्छदारले पटक पटक एउटै कुरा दोहोर्याउँदै मन्त्रिपरिषदले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले आफूलाई मात्र फसाउन खोजिएको गुनासो गरेका छन् । उनले भने, ‘राजनीतिक पूर्वाग्रहकै कारण केही व्यक्तिलाई उन्मुक्ति दिइएको छ ।’
तहगत रूपमा आफ्नो क्षेत्राधिकारभित्र आएपछि उक्त प्रस्ताव कार्यान्वयन गरेको तर मन्त्रिपरिषदको सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषदमा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत भएको उनको जिकीर छ । ‘आफूलाई मुद्दा लगाइयो, तर कसैकसैलाई चोख्याउने काम भयो,’ भन्दै गच्छदारले गुनासो पोखेका छन् । सरकारको गुरुयोजना कार्यान्वयन गर्ने क्रममा आफूले विभागीय मन्त्रीको भूमिकामात्र निर्वाह गरेको उनको दाबी छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति पनि उनले गुनासो गरेका छन् । एउटा संवैधानिक निकायले असन्तुलित भूमिका अपनाएर कसैलाई काखा र कसैलाई पाखा गरेको भन्दै उनले दुःखेसो पोखेका हुन् । अख्तियारको दोहोरो भूमिकाले संविधानको मर्ममाथि प्रहार हुँदा आफू पीडित भएको गच्छदारको दावी छ ।
उनले भनेका छन्, ‘स्वतन्त्र न्यायालयप्रतिको आफ्नो विश्वास टुटेको छैन । मैले न्याय पाउँछु, जसले भ्रष्टाचार गर्छ ऊ कारबाहीको दायरामा आउनुपर्छ । तर अनुसन्धान निष्पक्ष र विश्वासिलो भने हुनुपर्छ ।’




टिप्पणीहरू