सिध्दान्तहीन कम्युनिष्ट नेतामाथि कम्युनिष्ट पार्टीको कठोर कारबाही
चीनमा पार्टी अनुशासन र राजकीय कानुनको गम्भीर उल्लंघन गरेको आरोप पुष्टि भएपछि चियाङ्सु प्रान्तीय पार्टी समितिका एक जना नेतामाथि कारबाही गरिएको छ । उक्त समितिको पूर्व स्थायी समिति सदस्य तथा राजनीतिक एवम् कानूनी मामिला आयोगका सचिव वाङ लाइ कलाई सबै हिसाबले दोषी भेटिएपछि कारबाही गरिएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको स्वीकृतिपछि प्रान्तीय कम्युनिष्ट पार्टीले वाङमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानबाट उनी पार्टीप्रति बफादार नरहेको,राजनैतिक रुपमा सिद्धान्तविहीन भएको र संगठित गिरोहहरुसँग साँठगाँठ गरेर भ्रष्टाचार गरेको रहस्य खुलेको बताइएको छ ।
यस्तै वाङले पार्टीको राजनीतिक तथा सांगठनिक अनुशासनलाई लत्याएको,पार्टी कार्यकर्ता र सदस्यले पालना गर्नुपर्ने व्यक्तिगत अनुशासनको गम्भीर उल्लंघन गरेको समेत अनुसन्धानमा खुलेपछि उनलाई पार्टीबाट निश्कासित गरिएको हो ।
‘चिनियाँ कम्युनिष्ट पार्टीका अनुशासन,विधि विधान र नियमको घोर उल्लंघन गरिएको देखिन आएकाले वाङलाई पार्टीबाट निश्कासित गर्ने निर्णय भएको छ,’ उनीमाथि गरिएको कारबाहीबारे प्रान्तीय कमिटीले बताएको छ ।
उनले गरेका कतिपय अपराध राज्यका प्रचलित कानुन विपरित भएको समेत देखिएकाले राज्य पर्यवेक्षण आयोगलेसमेत थप अनुसन्धान र कारबाही गर्ने जनाइएको छ । चीनको संदिग्ध अपराध कानुनबमोजिम अनुसन्धान र अभियोजनको लागि अब उनलाई पार्टीले सरकारी निकायसमक्ष सुम्पने छ ।
टिप्पणीहरू