सशस्त्रका डिआइजीहरु कसलाई कहाँ पुर्याइयो ?
गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बलका १० जना डिआइजीको सरुवा गर्नुभएको छ । हिजो अबेर गरिएको सरुवामा प्रहरी महानिरीक्षकको सचिवालयमा डिआईजी मन्दीप श्रेष्ठलाई लगिएको छ ।
त्यसैगरी डिआईजीद्वय राजु अर्याल तथा नारायणदत्त पौडेललाई पनि मुख्यालयमै तानेर मानवस्रोत विभागमा लगिएको छ । बर्दिबासबाट चन्द्रप्रकाश गौतमलाई भने कार्य तथा सीमा सुरक्षा विभागमा तानिएको छ ।
अन्य डिआईजीहरुमा १ नम्बर प्रदेशको पकलीस्थित बाहिनीमा कमल गिरी,२ नम्बर प्रदेशको बर्दिवासमा गणेश ठाडा मगर, बागमती प्रदेशको ३ नम्बर बाहिनी,चितवनमा किशोर प्रधान, गण्डकी प्रदेशको ४ नम्बर बाहिनी पोखरामा शम्भु सुवेदी,लुम्बिनी प्रदेशको ५ नम्बर बाहिनीमा कुलबहादुर नेम्बाङ,सुदूरपश्चिम प्रदेश,अत्तरियास्थित ७ नम्बर बाहिनीमा दुर्गा भट्टराई र ९ नम्बर बाहिनी (उपत्यका) मा वंशी दाहाललाई सरुवा गरिएको छ ।
डिआईजी अभिकुमार खत्रीलाई भने कर्णाली प्रदेशको ६ नम्बर बाहिनी,सुर्खेतबाट कहिँ लगिएको छैन ।
सशस्त्रमा यसअघि सँधै असार महिनामा सरुवा गरिन्थ्यो । तर, सरकार परिवर्तनलगायतका कारण देखाउँदै असोजमा मात्र सरुवा गरिएको छ ।
डिआईजीलाई एउटा बाहिनीमा रहेर काम गरिसकेपछि फेरि बाहिनीमा सरुवा नगर्ने प्रचलन पनि यसपटक तोडिएको छ । दुई जना डिआईजीलाई बाहिनीबाट बाहिनीमै सरुवा गरिएको हो ।
टिप्पणीहरू