पृथ्वी जयन्तीका निम्ति छुट्टै माग
पूर्वसुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई माग पत्र बुझाउँदै पुस २७ गते पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउन माग गरेको छ । सम्पूर्ण पूर्वसुरक्षाकर्मी एक हौं, राष्ट्रको शान–मान कायम राखौं भन्ने मूल नाराका साथ परिषद्ले १९ बुँदे माग पत्र बुझाएको हो ।
उनीहरुले सुरक्षा निकायका सबै क्षेत्रलाई समेटेर पूर्वसुरक्षाकर्मीहरुको छाता संगठनको रूपमा विकास गर्न, राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न भन्दै सुरक्षाकर्मीहरूको हकहित एवम् जनजीविकासँग प्रत्यक्ष सरोकारका मागहरु प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको बताइएको छ ।
मागपत्रमा संविधानको भाग ४ को धारा ५१ को क (घ) अनुसार राष्ट्रिय कल्याणकारी कार्यको साथै राष्ट्रिय सुरक्षाको निमित्त स्थानीय तहदेखि राष्ट्रिय तहसम्म पूर्वसुरक्षाकर्मी आयोग गठन गरेर पूर्वसुरक्षाकर्मीहरुलाई सहभागी गराउन आग्रह गरिएको छ । त्यसैगरी द्वन्द्वमा वीरगति प्राप्त गरेका र अशक्त सुरक्षाकर्मीहरूलाई पीडित करार गरिनुपर्ने, नेपाली गोर्खा भारतीय सुरक्षाकर्मीहरूको निवृत्तपछिका कागजी प्रक्रियाहरूमा सरल र सहजताका लागि राज्यद्वारा पहल गर्न भनिएको छ ।
उनीहरुले राष्ट्रिय महत्वको विषय, विकास साझेदारी र सन्धि सम्झौता गरिँदा राष्ट्रियतालाई सर्वोपरि ठान्न आग्रह गरेका छन् । त्यस्तो महत्वपूर्ण विषयमा निर्णय गर्नुअघि जनमतलाई ध्यान दिन र हालको एमसीसी सम्झौताजस्ता विषयहरुमा गम्भिर हुन सरकारलाई अनुरोध गरिएको छ ।
टिप्पणीहरू