खोला, नदीमाथि पूजासामग्रीले खतरा
– गणेश लम्साल
यो वर्षको शरद ऋतु लागिसकेको छ । वर्षको सबैभन्दा उत्तम र सुन्दर यो याम आमोदप्रमोद मात्र नभएर हिन्दू धर्मसँस्कृति मान्नेहरूका लागि चाडपर्वको पनि उत्तम सिजन हो । चाडबाडकै लागि यो यामभित्र पर्ने असोज र कात्तिकभरि सबैभन्दा बढी मूर्ति पूजा हुने गर्छन् । धर्म, संस्कृतिको नियमअनुसार तामझामसहित देवीदेउताको प्रतिकका रूपमा मूर्तिको पूजा आराधना गरिन्छ ।
शरद ऋतुभित्र विश्वकर्मा, दुर्गा पूजा, कालिपूजा मुख्य पर्छन् । यो समय देशैभरि गाउँ गाउँमा धुमधामले मूर्ति पूजा गरिन्छन् । मूर्तिपूजामा रंगिचंङगी ध्वजापताका, महँगा रासायनिक रंग, कपडा, सिमेन्ट, प्लास्टर, प्लास्टिक र विभिन्न माला प्रयोग गरिन्छन् । एक स्थानमा मूर्ति निर्माण गर्न मात्र हजारदेखि लाखौँ खर्च हुन्छ । हिन्दू प्रचलनअनुसार मूर्ति पूजा गरिसकेपछि बाजागाजा सहित सकेसम्म टाढा र प्रसिद्ध ठूला खोला नदीहरूमा लगेर मूर्ति विसर्जन गर्ने चलन छ ।
विराटनर आसपासका नदी सिँघिया र केशलियामा मूर्ति विसर्जन गर्नेहरूको ताँती नै हुन्छ । कसैले कोशी नदीमा लगेर विसर्जन गर्ने गरेका छन् । झापाको मेची, कन्काई नदीमा पनि मूर्ति विसर्जन गर्नेहरूको लर्को नै लाग्छ । देखासिकी रूपमा नेपालमा पनि शुरु भएको मूर्ति पूजा र त्यसपछि खोलानदीमा तामझामसहित बिर्सजन गर्ने कार्य नेपालमा बस्ने हिन्दूहरूको पनि परम्परा नै बनिसकेको छ ।
मूर्ति पूजा गर्नु धर्मसँस्कृतिअनुसार आ–आफ्नो रुचि र श्रद्धाको अधिकार हो । हाम्रो देशमा राज्यले पनि संरक्षण दिएकोले मूर्ति पूजा परम्परा झन झन फैलँदै भव्य हुँदै गइरहेको छ । दुर्गा पूजा, सरस्वती पूजा, कालिपूजा, गणेश पूजा, कृष्ण जन्माष्टिमी पूजा, विश्वकर्मा पूजा, शिवपूजा, ईन्द्रपूजा आदि अनेकै पूजाहरूमा नेपाल देशभरि हजारौ मूर्तिहरू निर्माण हुन्छन् । अलग्गै अध्यन नभए पनि मूर्ति पूजामा नेपालमा मात्र करोडौको आर्थिक कारोबार हुने गर्छ । मूर्ति पूजाले सयौं कलाकार, डेकोरेटर र परिवारको भरपोषण गरेको छ ।
रसायनिक रंग, सजावटका सामग्री, पूजा सामग्री, फलफूल र मिष्ठान्न सामग्रीहरूको पनि करोडौंको व्यापार हुने गर्छ । जसले व्यापार व्यवसायमार्फत अर्थतन्त्र बृद्धिमा सघाइरहेको छ । सँगै धर्मसँस्कृतिसँग जोडिएको परम्परा भएकोले समाजलाई चलायमान पनि बनाउने गरेको छ भने समाजिक सदभाव र एकतामा बल पनि पु¥याइरहेको छ ।
तर यति हुँदाहुँदै पनि पूजापछि मूर्तिलाई खोलानदीमा लगेर बिजर्सन गर्ने (सेलाउने) परम्पराचाहिँ गलत हो । खोला नदीमा लगी मूर्ति सेलाएर हामीले स्वच्छ राख्नुपर्ने स्थानलाई प्रदुषित मात्र बनाएका छैनौं जानी जानी आफै अपवित्र बनाइरहेका छौं किनभने मूर्तिमा प्रयोग हुने रासायनिक रंग, कपडामा प्रयोग हुने रंगहरूमा लिड (सिसा) को मात्र अधिक हुन्छ । जुन जिवजन्तु र पर्यावरणका लागि अति नै हानिकारक हुन्छ । अर्कोतिर सिमेन्ट, प्लास्टिकका माला र विभिन्न सजावटका सामग्रीहरू पनि पर्यावरणका लागि हानिकारक मानिन्छन् ।
मूर्ति माटो वा सिमेन्टले मात्र बनेको हुँदैन त्यसमा बाँस, काठ र रडहरू समेत प्रयोग गरिएका हुन्छन् जुन नदीमा अडकिएर बस्दा नदीको बहावलाई छेकिदिन्छ र फोहोरको थुप्रोमा परिणत हुन्छ । सेलाएको मूर्तिकै कारण खोला, नदीका माछा, सर्प, गोही र अन्य जीवजन्तु मासिन्छन् । खोलाको पानी प्रदूषित हुँदा कृषि बालीनालीका लागि पनि हानिकारक हुन्छ । खोला, नदीको पानी पिउने जनावरहरू विरामी हुन पुग्छन । हामी मानिसले पनि खोलानदीको पानी स्वच्छ मानेर पिउँदै आएका छाँै । त्यत्तिमात्र नभै प्रसिद्ध नदीका पानीहरू घरमा ल्याएर अमृत रसका रूपमा पनि प्रयोग गरेका छौं ।
खोला नदी हाम्रो सभ्यताको द्योतक मात्र नभएर प्राण पनि हो । यसैले खोला नदीहरूको पानी निर्मल, स्वच्छ र पवित्र रहनुपर्छ भन्ने हाम्रो मान्यता छ ।यति मात्र हैन अविरल रूपमा बग्न पाउनु खोलानदीको प्राकृतिक अधिकार हो र खोलानदीभित्र सुरक्षित रूपले बाँच्न पाउनु सबै जलचर प्राणीहरूको हक हो ।
खोला, नदीको स्वच्छतालाई ख्याल गर्दै भारतका धेरै ठूला साना नदीहरूमा मूर्ति विसर्जन गर्न रोक लगाउन थालिएको छ । असामको ब्रम्हपुत्र, वारणसीको गंगा अनि दिल्लीको नर्मदा र यमुना नदीमा मूर्ति सेलाउन दिन छाडिएको छ ।
भारतका केही राज्यमा त खोला नदीमा मूर्ति विसर्जन गरेमा पक्राउ गरेर जरिवनासमेत भराउन थालिएको छ । दुई वर्षअघि विराटनगरको सिँघिया खोला सफाइ अभियान थालिएको थियो । प्रदेश १ सरकारका तात्कालिन सामाजिक विकासमन्त्री जीवन घिमिरे आफै नदी सफा गर्ने अभियान सफल बनाउन अघि सरेका थिए ।
अभियानले गर्दा सिँघिया खोला धेरै सफा पनि भएको थियो । घिमिरेले प्रदेशभरिका खोला सफा गर्ने अभियान विस्तार गर्ने प्रतिबद्धता जनाए पनि त्यो अभियान खै किन हो अगाडी बढन सकेन । नदी स्वच्छ हुनुपर्छ भन्ने बुझेर दुर्गन्धित बाग्मती सरसफाइ अभियान काठमाण्डौमा अझै चलिरहेको छ । खोलानदी फोहोर हुनुहुँदैन, स्वच्छ राख्नुपर्छ भन्ने प्रस्ट बुझेका हामी प्रदेश १ वासीचाहिँ किन चुपचाप बस्ने ? हामीले पनि खोला, नदीमा मूर्ति विसर्जन गर्ने परम्परामा रोक किन नलगाउने ? अटेर गर्नेहरूलाई कानुन बनाएर जरिवाना किन नगर्ने ?
टिप्पणीहरू