सबैतिर यस्तै पाइयोस् सुन्न
भरतपुर, चितवनको बजार पछिल्लो समय सुध्रिँदै गएकै हो त ? खाद्य स्वच्छताको अवस्थामा पहिलेभन्दा केही सुधार भइरहेको अनुगमनकर्ता बताउँछन् । भरतपुरमा यस वर्षको नियमित बजार अनुगमन गत बुधबारबाट शुरु भएको छ ।
महानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आन्तरिक राजश्व, घरेलु तथा साना उद्योग कार्यालय, पशु चिकित्सक, कृषि विज्ञसहितको संयुक्त बजार अनुगमन टोलीले गत वर्ष खाद्यान्न पसल, होटल, मासु पसल, दूध डेरीलगायत विभिन्न ६५ वटा पसलको अनुगमन गरेको थियो ।
‘बिग्रेका गुणस्तरहीन मासुलगायत लेबल नभएका तथा उपभोग्य मिति समाप्त भएका विभिन्न खाद्यसामग्री तत्कालै नष्ट गरिएको थियो,’ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिका ठानेश्वर सापकोटाले भने, ‘चुक अमिलो, मह, घिउ, बिस्कुट, चकलेटजस्ता १० वटा उपभोग्य वस्तु नमुना परीक्षणका लागि खाद्य अनुसन्धान कार्यालयमा पठाएका थियौं ।’ बेलाबेलामा उजुरी तथा गुनासासमेत आइरहने हुँदा कार्यालयबाट आकस्मिक अनुगमन हुने गरेको उनले बताए ।
३० भदौबाट थालिएको यसवर्षको नियमित बजार अनुगमनको पहिलो दिन भरतपुर–१० र दोस्रो दिन वडा नं. ९ र ८ क्षेत्रका खाद्यान्न पसल, मासु पसल, दूध डेरी, औषधि पसल, होटल, तरकारी तथा फलफूल पसलमा संयुक्त टोलीबाट अनुगमन भयो । खाद्य वस्तुको गुणस्तर एवं लेवल भए–नभएको, उपभोग्य मिति सकिए–नसकिएको, सरसफाइ, मूल्यसूची, साइनबोर्ड, दर्ता, नवीकरण, बिलबजक आदि हेर्दा पहिलेको तुलनामा अवस्था सुधारिएको पाइएको उनी बताउँछन् ।
‘हुन त भरतपुर–१० को इनर्जी फुड प्रालिमा केही प्याकिङ मम, मासुका प्याकेट, क्रिमरोलमा लेवल नभएको पाइएपछि तुरुन्तै नष्ट गरियो,’ उनले भने, ‘भरतपुर–१० कै नेपाल मिट प्रोसेसिङमा लेवल, सरसफाइ राम्रै देखियो । सोही क्षेत्रकै होटल/रेष्टुरेण्टका भान्छाकोठा, भान्सामा प्रयोग हुने तेल, मसला, खाद्य सामग्री, सरसफाइ आदिको अवस्था हेर्दा पनि खासै त्रुटि देखिएन ।’ अर्थात्, अखाद्य तथा गुणस्तरहीन वस्तु बिक्रीका लागि राखिएको, झिंगा भन्केको, फोहोरजस्ता गम्भीर लापरवाही अहिले होटल–रेष्टुरेण्टमा नदेखिएको बताउँदै उनी भन्छन्, ‘यसपटकको अनुगमनमा गत वर्षजस्तो नष्टै गर्नुपर्ने स्थिति प्रायः मासु पसलमा पनि रहेन । वधशालाहरू पनि हे¥यौं । हुलाकचोकको मासु पसलमा गत वर्ष गुणस्तरहीन मासु भेटेर नष्ट गरिएकोमा अहिले सुधारिएको पाइयो ।’
कतै गम्भीर त्रुटि भेटेमा त कानुनबमोजिम तत्काल कारबाही गर्ने नै छौं भन्दै उनले थपे, ‘तर यसपटक प्रायः ठाउँमा त्यस्तो स्थिति रहेन । सामान्य त्रुटि भेटिएकोलाई सुधार गर्न सुझाव दिएर आएका छौं ।’ भरतपुर, चितवनका मानिस प्रायः शिक्षित र सजग नै छन् । त्यसमाथि आजकल उपभोक्ता र बिक्रेताहरूमा बढिरहेको खाद्य स्वच्छतासम्बन्धी सचेतनाका कारण बजारमा स्थिति सुधारिँदै गएको पाइएको ठानेश्वरको ठम्याइ छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवनका प्रमुख घननाथ अधिकारीका अनुसार पनि पछिल्लो समय चितवनको बजारमा तुलनात्मक रूपले केही सुधारचाहिँ देखिएकै हो । ‘हामी अनुगमनमा हिँड्याहिँड्यै छौं । उद्योगी÷व्यवसायी तथा बिक्रेता र उपभोक्ताहरूमा सचेतना जगाइरहेका छौं, कसैलाई कारबाही पनि ग¥यौं’, उनले भने, ‘गत वर्ष १८ वटा मुद्दा दायर ग¥यौं ।’ मिडियाहरूबाट प्रकाशन/प्रसारण हुने जनचेतनामूलक सामग्रीहरूले पनि मानिसहरूमा सकारात्मक प्रभाव परिरहेको उनले बताए ।
अहिले पसलहरूमा भीडभाड अलि बढेकोे देखिने गरेको भन्दै घननाथले खाद्यवस्तु किन्दा लेवल, मूल्य तथा म्याद सकिए, नसकिएको केलाइकेलाई हेरेर एउटै उपभोक्ता ग्राहकले धेरै समय लिने गरेको कुरा पसलेबाट आइरहेकोसमेत बताए । भने, ‘यो पनि एउटा राम्रो पक्ष हो ।’
खाद्य स्वच्छता कायम राख्नुपर्छ भन्ने पर्याप्त जानकारी प्राप्त हुनुका साथै ऐनविरुद्ध गरिए कारबाही हुने प्रावधानले स्वच्छ खाद्य वस्तु उत्पादन तथा बिक्री वितरणमा सघाउ पुगिरहेको उनी बताउँछन् । ‘हामी पनि निरन्तर अनुगमनमा छँदै छौं,’ घननाथले थपे । उनको कार्यालयले अनुगमनको अलावा उद्योगी तथा उपभोक्ताका लागि अभिमुखीकरण कार्यक्रम, बिक्रेतालाई तालिमलगायत सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
– अजय गोर्खाली
टिप्पणीहरू