बादलको मर्यादाक्रम के बन्यो ?

बादलको मर्यादाक्रम के बन्यो ?

नेकपा एमालेमा पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको वरियता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पुगेको छ । आज गठित बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीमा प्रदेश इञ्चार्ज रहनुभएका बादललाई शाक्यभन्दा तलको बरियतामा राखिएको हो ।

४ सय ७७ सदस्यीय बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा बादल इञ्चार्जसहित दोस्रो वरियतामा रहँदा शाक्यलाई सबैभन्दा माथि राखिएको छ । अध्यक्ष र सचिवको जिम्मेवारी क्रमश: आनन्द पोखरेल र खेम लोहनीलाई दिइएको छ ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुँदा प्रदेशको इञ्चार्ज शाक्य हुनुपर्ने हो । तर, बादललाई इञ्चार्ज यथावत राख्न शाक्यलाई उपल्लो वरियतामा सेटल गरिएको बताइएको छ ।

माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा चर्चा कमाउनुभएका बादल एमाले-माओवादी एकतापछि बनेको नेकपाको ९ सदस्यीय सचिवालयमा रहिसक्नुभएका शीर्ष नेता हुनुहुन्छ । नेकपाको अन्तरसंघर्षका बेला कतै पनि नलागी तटस्थ भूमिका खेल्नुभएका उहाँ विभाजनपछि भने केपी ओलीतिर लाग्नुभएको थियो ।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काइदिएपछि आफू निकट सबै नेतालाई माओवादीमै छोडेर बादलले एमाले रोज्नुभएको थियो । त्यतिबेला ओलीपछिको बरियता र सहअध्यक्षको आश्वासन पाएर उहाँले एमाले रोजेको चर्चा थियो ।

त्यसयता एमालेको आन्तरिक बैठक र कार्यक्रमहरुमा बादललाई महासचिव ईश्वर पोखरेल र पूर्वसभामुख सुवास नेम्वाङभन्दा पनि तल्लो वरियतामा राखिंदै आएकोमा अहिले झन् तल पारिएको हो ।

टिप्पणीहरू